मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न स्थानीयको माग

सामाजिक सञ्जालमासमेत पछिल्लो केही दिनयता धगनगढीस्थित गेटा विमानस्थलको विकल्पमा भीमदत्तनगरको मझगाउँ विमानस्थल सुचारु हुनुपर्ने माग बढिरहेको छ । पूर्व वन अधिकृत रमेश चन्दको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेर दबाब सिर्जना गर्न थालिएको छ ।

कञ्चनपुर । कञ्चनपुर भीमदत्तनगरपालिका–१६ स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । विमानस्थल सञ्चालनका लागि दबाब दिन यहाँका युवा तथा नागरिक समाजका अगुवाको पहलमा मझगाउँ विमानस्थल सङ्घर्ष समितिसमेत गठन गरिएको छ ।

सामाजिक सञ्जालमासमेत पछिल्लो केही दिनयता धगनगढीस्थित गेटा विमानस्थलको विकल्पमा भीमदत्तनगरको मझगाउँ विमानस्थल सुचारु हुनुपर्ने माग बढिरहेको छ । पूर्व वन अधिकृत रमेश चन्दको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेर दबाब सिर्जना गर्न थालिएको छ ।

मझगाउँ विमानस्थल सङ्घर्ष समितिका व्यवस्थापन संयोजक करनसिंह पालले बन्द विमानस्थल सूचारुका लागि विभिन्न निकाय, सङ्घ संस्था, स्थानीय तह र स्थानीय प्रशासकसंग चरणवद्ध छलफल तथा अन्तरक्रिया भइरहेको जानकारी दिए ।

सङ्घर्ष समितिले मझगाउँ विमानस्थलमै आज कञ्चनपुरका सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखासहित यहाँका सञ्चारकर्मी पनि विमानस्थल पुनः सञ्चालनमा एक्यवद्धता जनाएको छ । असुरक्षाका कारण देखाउँदै २०५६ सालदेखि आन्तरिक उडान भर्दै आएको मझगाउँ विमानस्थल बन्द हुन पुगेको थियो ।

‘हरेक दलहरुका चुनावी प्रतिबद्धतामा मझगाउँ विमानस्थल पुनः सञ्चालन हुने विषय प्राथमिकतामा परेको भए पनि अहिलेसम्म यो सञ्चालनमा आउन सकेको छैन’, सङ्घर्ष समितिका संयोजक रमेश चन्दले भने, ‘अब सामूहिक रुपमा एकताबद्ध भई पुनः सञ्चालनको अभियानमा सबैले हातेमालो गर्नु जरुरी छ ।’

उनले कञ्चनपुरवासीले झन्डै दुई दशकदेखि धनगढी र नेपालगञ्ज विमानस्थलबाट हवाईयात्रा गरिरहनु पर्ने बाध्यता रहेको परेको बताए ।

विमानस्थल सञ्चालनका चासो नहुँदा लामो समयदेखि गौचरणमा परिणत भएको छ । झन्डै ५३ बिघा क्षेत्रफलमा रहेको विमानस्थलमा दुई किलोमिटर धावनमार्गसमेत रहेको छ । रासस