अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बुटवलमा, ६ बिघाभन्दा बढी क्षेत्रफल चर्चिने

शहरी विकास मन्त्रालय, शहरी विकास र भवन निर्माण विभाग, बुटवल सभागृह तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइले गरेको बोलपत्र स्वीकृत भएपछि आजदेखि काम शुरु गरिएको हो ।

बुटवल । बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित बुटवलमण्डपमा आधुनिक तथा उच्च प्रविधियुक्त ‘अन्तरराष्ट्रियस्तरको बुटवल प्रदर्शनी केन्द्र’ निर्माणका लागि आजदेखि काम शुरु भएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास र भवन निर्माण विभाग, बुटवल सभागृह तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइले गरेको बोलपत्र स्वीकृत भएपछि आजदेखि काम शुरु गरिएको हो । उक्त आयोजना शुरु भएको २७ महिनामै निर्माण पूरा गर्ने लक्ष्य लिइएको भवन विभागका महानिर्देशक मनिराम गेलालले जानकारी दिए ।

बुटवलमण्डपमा रहेको कुल साढे १६ बिघा जग्गामध्ये ६ बिघाभन्दा बढी क्षेत्रफलमा अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्र बन्नेछ । साढे १० बिघा क्षेत्रफलमा अहिले अन्तरराष्ट्रिय सभागृहको दोस्रो चरणको निर्माणको काम चलिरहेको छ । एक अर्ब रूपैयाँभन्दा बढी लागत अनुमानमा निर्माण गरिने प्रदर्शनी केन्द्र मुलुककै नमूना र आकर्षक हुने जिकिर गरिएको छ । यसको प्रदर्शनी केन्द्रमै हरियालीसहितका बालोद्यान, आधुनिक बैठक कक्ष, व्यवस्थित पार्किङ क्षेत्रसहित हरियालीयुक्त वातावरणका मण्डप हुने गरी डिजाइन गरिएको छ ।

प्रदर्शनीका लागि ट्रस सिस्टमको ठूलो कक्षमा १२ हजार वर्ग मिटरमा प्रदर्शनी गर्न मिल्ने गरी मूलस्थलको डिजाइन गरिएको छ । यहाँ ३५० देखि ४०० सम्म कक्ष राख्न मिल्नेछ । कक्षलाई आवश्यक परेका बखतमा घटाउन बढाउन मिल्नेगरी डिजाइन गरिएको भवन विभागका महानिर्देशक गेलालले जानकारी दिए ।

खुला स्थानमा ठूलाठूला उपकरणको छुट्टै प्रदर्शनी गराइने छ । त्यहाँ डोजर, लोडर, गाडीलगायत साधनको प्रदर्शनी हुनेछ । यस्तै ३५० र २५० वर्ग मिटरका दुई ठूला बैठक कक्ष पनि बन्नेछन् । तीन सय ५० वर्ग मिटरमै व्यवस्थित भोजनालय बन्ने डिजाइन रहेको उनले बताए ।

प्रदर्शनीस्थलमा एक लाख वर्ग फिटमा आकर्षक हरियालीसहितको बालोद्यान बन्नेछ । मण्डप परिसरमा रहेको गणतन्त्र स्मारकलाई केन्द्र भागमा राखेर छुट्टै पोखरी निर्माण गरी आकर्षक बनाइने छ ।

प्रदर्शनी केन्द्रको नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज शिलान्यास गर्दै आयोजनाको निर्माणमा गुणस्तरीयता राखी समयमा काम सम्पन्न गर्नुपर्ने यस क्षेत्रका जनताको मुख्य सरोकारको विषय भएको बताए । आयोजनाका लागि बजेट अभाव हुन नदिइने प्रतिबद्धतासमेत उनले जनाए ।

प्रतिनिधिसभाका सदस्य पौडेलले वर्तमान सरकार निर्माण भएको एक वर्षका अवधिमा सरकारले संविधान कार्यान्वयनको वस्तुगत, कानूनी र संरचनागत आधार निर्माण गर्ने काम सफलतापूर्वक सम्पन्न गरेर जनतालाई संविधानले प्रदान गरेको मौलिक हक व्यावहारिक रुपमा उपभोग गर्नसक्ने गरी कानून निर्माण गरेको बताए ।

नेता पौडेलले सरकारको पहिलो वर्ष समृद्धि, विकास, सामाजिक न्याय र समाजवादतर्फ उन्मुख वर्षका रुपमा स्थापित गर्ने सरकारको सोच व्यावहारिक रुपमा सही सावित भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका वित्तीय संस्थाका आर्थिक विष्लेषणबाट पुष्टि भएको बताए ।

पूर्वअर्थमन्त्रीले सरकारले चालू एक वर्षको अवधि समृद्धिको आधार वर्षका रुपमा सदुपयोग गरेको र आउँदो वर्ष भने इतिहासमै सबैभन्दा तीव्र विकास, समृद्धि र प्रगतिको वर्षका रुपमा सदुपयोग गर्ने गरी नीति कार्यक्रम ल्याएको समेत बताए ।

कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरीले प्रदेश नं ५ सरकारले निजी क्षेत्रसँगको सहकार्यबाट नै प्रदेशलाई समृद्ध र विकासको बाटोमा अघि बढाउन सकिन्छ भनेर नै निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउने महत्त्वपूर्ण कार्यक्रम अघि सारेको बताए ।

उनले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण हुँदा नै राष्ट्रिय योजना आयोगको अध्ययनमा ५ नं प्रदेश अहिले आर्थिक वृद्धिदरमा अग्रस्थानमा देखिएको बताए ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बुटवलका लागि अर्को गौरवको विषय थपिएको उल्लेख गर्दै समयमै केन्द्र निर्माण सम्पन्न होस् भन्ने बुटवलबासीको चाहना रहेको बताए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमबहादुर हमालले अन्तरराष्ट्रिय प्रदर्शनीस्थलले आर्थिक सबलीकरणमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले समयमै काम सम्पन्न गर्ने र गुणस्तरीयताको नियमित अनुगमनका लागि उपमहानगरपालिकाको नेतृत्वमा निजी क्षेत्रको सहभागितामा समिति बनाउनुपर्नेमा जोड दिए । रासस