संचय कोषले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई थप १ अर्ब दिँदै, असारसम्म पैसाको समस्या नहुने

यसअघि १ अर्ब रुपैयाँ दिइसकेको कोषले थप १ अर्ब रुपैयाँ दिन लागेको हो । नगद प्रवाहमा समस्या आएपछि तत्कालका लागि भनेर आयोजनालाई अपुग रकम (ब्रिजलोन) उपलब्ध गराउन लागेको संचय कोषका प्रशासक तुलसी गौतमले बताए ।

काठमाडौं । स्वदेशी लगानीमा निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई कर्मचारी संचय कोषले फेरी १ अर्ब रुपैयाँ ऋण दिने भएको छ । यसअघि १ अर्ब रुपैयाँ दिइसकेको कोषले थप १ अर्ब रुपैयाँ दिन लागेको हो ।

नगद प्रवाहमा समस्या आएपछि तत्कालका लागि भनेर आयोजनालाई १ अर्ब रुपैयाँ अपुग रकम (ब्रिजलोन) उपलब्ध गराउन लागेको संचय कोषका प्रशासक तुलसी गौतमले बताए ।

तामाकोसीलाई थप १ अर्ब रुपैयाँ दिने निर्णय भइसकेको उनले सुनाए । क्यापिटल नेपालसंग कुरा गर्दै उनले असारसम्म खर्च गर्न १ अर्ब रुपैयाँ ब्रिज लोन दिन लागेको उनले स्पष्टपारे । कोषले ४ अर्ब रुपैयाँसम्म ऋण दिने  छ । साउनपछि नागरिक लगानी कोष र नेपाल टेलिकमले पनि थप लगानी गर्ने उनको भनाई छ ।

माथिल्लो तामाकोसीको प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले नगद प्रवाहमा समस्या आएपछि १० अर्ब रुपैयाँ थप ऋण मागे पनि ८ अर्ब रुपैयाँ भए पुग्ने देखिएको गौतमल बताए । पुससम्म आयोजनाबाट बिजुली उत्पादन सुरु हुने भएकाले नगद प्रवाह बढ्ने उनको भनाई छ ।

पहिला ४१ अर्ब रुपैयाँ अनुमान गरिएको थियो, विविध कारणले लागत बढेपछि थप रकम आवश्यक पर्ने देखिएको हो । आयोजनाको लागत निर्माण अवधिको ब्याज बाहेक (आईडीसी) बढेर ४९ अर्ब रुपैयाँ पुगेको छ । आयोजनाको समय लम्बिँदा निर्माण अवधिको ब्याज मात्रै २० अर्ब रुपैयाँ पुगेको छ ।

हालसम्म ९८ प्रतिशत काम सकिएको छ । आयोजनाको काम सक्न अब २ प्रतिशत मात्र बाँकी छ । आउँदो मंसिरसम्म आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ ।

राष्ट्रिय गौरवको तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाबाट थप १७ करोड ५० लाख युनिट बिजुली उत्पादन गर्न अपर तामाकोसीले रोलवालिङ्ग डाइभर्सनको काम अघि बढाएको छ ।