बैङ्कको ब्याजले बढायो बचत

सरकारले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा पछिल्ला वर्षमा आयमा भएको वृद्धिसँगै बैङ्क तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएपछि राष्ट्रिय बचतमा बढोत्तरी आएको उल्लेख गरेको छ ।

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले निक्षेपमा बढी ब्याज दिएपछि देशको राष्ट्रिय बचतमा वृद्धि भएको छ । चालू आर्थिक वर्षमा राष्ट्रिय बचत २.७ प्रतिशत बढेर २०.५ प्रतिशत पुगेको सरकारको अनुमान छ । गत वर्ष यस्तो बचत १७.८ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा पछिल्ला वर्षमा आयमा भएको वृद्धिसँगै बैङ्क तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएपछि राष्ट्रिय बचतमा बढोत्तरी आएको उल्लेख गरेको छ ।

चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा बचतको अनुपात बढेर ५२.४ प्रतिशत पुगेको छ । गत वर्ष ४७.१ प्रतिशत थियो । पछिल्लो समयमा जनताले उपभोगभन्दा पनि बचत गर्न थालेको सरकारको भनाइ छ । यो वर्ष उपभोग घटेर ७९.५ प्रतिशतमा झर्ने अनुमान छ । गत वर्ष ८२.२ प्रतिशत थियो ।

३ वर्षयता बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च)को अवस्था आएपछि बैङ्कहरुले निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशतसम्म पुर्याएका थिए । अहिले पनि मुद्दती निक्षेपको ब्याजदर ९.५ प्रतिशतसम्म छ ।

पुँजी निर्माणमा सरकारको कार्यशैलीले नभई बैङ्कको बढ्दो ब्याजदरले वृद्धि भएको पूर्वसचिव रामेश्वर खनालको भनाइ छ । ‘बैङ्कहरूले निक्षेप तान्न आकर्षक ब्याजदर दिएपछि बचतकर्ताले बैङ्कमा पैसा राखेर बचत बढेको हो, सरकारका कारणले होइन’, उनले भने ।