बजेट २०७६/०७७ : सवारी साधनको अन्त शुल्क यथावत

चालू आर्थिक वर्षमा सवारी साधनको इन्जिन क्षमताका आधारमा अन्तःशुल्क वृद्धि गरेको अर्थमन्त्रालयले यस वर्ष भने कुनै घटबढ गरेको छैन ।

काठमाडौं । सङ्घीय संसदमा आज प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा सवारी साधन करमा कुनै परिवर्तन गरिएको छैन । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सवारी साधनको करमा कुनै हेरफेर गरिएको छैन ।

चालू आर्थिक वर्षमा सवारी साधनको इन्जिन क्षमताका आधारमा अन्तःशुल्क वृद्धि गरेको अर्थमन्त्रालयले यस वर्ष भने कुनै घटबढ गरेको छैन ।

विलाशी बस्तु मान्दै आएको सवारी साधनमा सरकारले निश्चित सीसीसम्मका सवारी साधनको अन्त शुल्क यथावत कायम गरेको थियो ।

गत वर्षको अन्तःशुल्क वृद्धि दरलाई हेर्ने हो भने डिजेल भर्सनका प्यासेन्जर कारमा १५ सय सीसीसम्म पुरानै ६० प्रतिशत, १५ सय एकदेखि दुई हजार सीसीसम्म ७० प्रतिशत, दुई हजार एकदेखि २५ सयसम्म ८५ प्रतिशत तथा २५ सय एकदेखि माथि सय प्रतिशत थियो ।

यस्तै पेट्रोल भर्सनका प्यासेन्जर कारमा हजार सीसीसम्म पुरानै ६० प्रतिशत, हजार एकदेखि १५ सय सीसीसम्म ६५ प्रतिशत, १५ सय एकदेखि दुई हजार सीसीसम्म ७० प्रतिशत, दुई हजार एकदेखि २५ सीसीसम्म ८० प्रतिशत, २५ सय एकदेखि तीन हजार सीसीसम्म ९० प्रतिशत तथा तीन हजार एकदेखि माथि सीसीसम्म सय प्रतिशत थियो ।