भ्रमण वर्षको उपेक्षा : पर्यटन र हवाई क्षेत्रमा ६ अर्ब रुपैयाँ घट्यो

संसदको दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा हवाई क्षेत्रको विकासका लागि १५ अर्ब ८५ करोड र पर्यटन क्षेत्रका लागि २ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेका छन् । गत वर्ष हवाई क्षेत्रमा १९ अर्ब ३५ करोड र पर्यटनमा ५ अर्ब २० करोड ३४ लाख विनियोजन गरिएको थियो ।

काठमाडौं । सरकार आफैले घोषणा गरेको भ्रमण वर्षलाई उपेक्षा गरेको पाइएको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले हवाई र पर्यटन क्षेत्रको बजेट चालू वर्षको भन्दा ६ अर्ब २३ करोड ४० लाख रुपैयाँले घटाएका हुन् ।

संसदको दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा हवाई क्षेत्रको विकासका लागि १५ अर्ब ८५ करोड र पर्यटन क्षेत्रका लागि २ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेका छन् । गत वर्ष हवाई क्षेत्रमा १९ अर्ब ३५ करोड र पर्यटनमा ५ अर्ब २० करोड ३४ लाख विनियोजन गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बजेट के कारणले घटाइयो भन्ने विषयमा आफूलाई जानकारी नभएको बताए । बजेट घटेको विषयमा आफूहरुले पनि सोधखोज गरिरहेको सचिव सापकोटाको भनाइ छ ।

सरकारले गत वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने भन्दै भ्रमण वर्ष २०२० को घोषणा गरेको थियो । यस वर्षको बजेटमा पनि भ्रमण वर्षको कार्यक्रमलाई निरन्तरता दिइएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा अगाडि बढाउने भएको छ ।

भ्रमण वर्षलाई लक्ष्य गरी सरकारले ७ ओटै प्रदेशबाट सय ओटा नयाँ गन्तव्यको छनौट गरी आवश्यक पूर्वाधार निर्माण गर्ने तयारी गरिरहेको छ ।

यस्तै भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई पनि बजेट विनियोजन गरिएको छ ।

साथै चुहानडाँडा, गोकुलेश्वर, कमलबजार र स्वर्गद्वारीमा नयाँ विमानस्थल बनाउने भएको छ । यस्तै राजधानी नजिकको जिल्लामा आन्तरिक विमानस्थलको तयारी समेत गर्ने सरकारको तयारी छ ।