तामाकोसी पाँचौं आयोजनाको सप्लिमेन्ट अध्ययन गर्न परामर्शदता छनोट

भारतको वापकोर्स इन्डिया लिमिटेड, इआरएम इन्डिया प्राइभेट लिमिटेड, ह्याच लिमिटेड क्यानडा र हग्लर बेली पाकिस्तान प्राइभेट लिमिटेड छानिएका छन् । यी कम्पनीले बोलपत्रमा भाग लिन पाउनेछन् । यीमध्ये दुईटा कम्पनी छानिनेछन् ।

काठमाडौं । प्रस्तावित तामाकोसी पाँचाैं जलविद्युत आयोजनाको थप अध्ययनका लागि चार ओटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छानिएका छन् । आयोजनाको प्रवद्र्धक तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजनाले प्रभाव पार्ने जैविक विविधता कार्ययोजना र वातावरणीय सामाजिक प्रभावको थप अध्ययन गर्न परामर्शदाता छानिएका हुन् ।

छानिएकामा भारतको वापकोर्स इन्डिया लिमिटेड, इआरएम इन्डिया प्राइभेट लिमिटेड, ह्याच लिमिटेड क्यानडा र हग्लर बेली पाकिस्तान प्राइभेट लिमिटेड छन् । यी कम्पनीले बोलपत्रमा भाग लिन पाउने भएका छन् । यीमध्ये दुईटा कम्पनी छानिनेछन् ।

ऋण लगानीकर्ता एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्क (एआईआईबी)को निर्देशिकाअनुसार आयोजनाको थप अध्ययन हुन लागेको हो । ९९ मेगावाट क्षमताको तामाकोसी पाँचाैंमा एआईबीले १५ अर्ब रुपैयाँ लगानी गर्ने सहमति गरेको छ । यो कामका लागि परामर्शदाता नियुक्तिका लागि उसले १० करोड रुपैयाँ अर्थात् ९ लाख डलर अनुदान दिएको छ । एआईआईबीले नेपालमा लगानी गर्न लागेको तामाकोसी पाँचाैं पहिलो आयोजना हो । नेपाल एआईआईबीको सेयर सदस्य रहेको छ ।

परामर्शदाता जर्मनीको ल्याहमेयर इन्टरनेसनलले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । ल्ह्यामेरले डीपीआरको मस्यौदा प्रवद्र्धक तामाकोसी जलविद्युतलाई बुझाएको छ । तामाकोसी जलविद्युत् नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । आयोजना २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि निर्माणअघिको काम जारी छ । यता कम्पनीले आयोजना निर्माण व्यवस्थापन र सुपरिवेक्षणको कामका लागि परामर्शदाता नियुक्त गर्न लागेको छ । परामर्शदाताको प्रस्ताव मूल्याङ्कन गरिरहेको छ । आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्ट्र्याक्ट (ईपीसी) खाकामा बनाउने तय भएको छ ।

आयोजना दुई प्याकेजमा निर्माण हुने भएको छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रोमेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ । आयोजनाको ६८ प्रतिशत स्वामित्व विद्युत् प्राधिकरण र ३२ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दा र बाँकी सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीको योजना छ ।

हाल निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट निस्कने पानी सीधै सुरुङमा पठाएर ९९.८ मेगाबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ८ किलोमिटर लामो सुरुङ छ । आयोजना दोलखाको उत्तरी भेग सुरीमा पर्छ ।