४०५ करोड नाफा गर्दै नेपाल इन्भेस्टमेन्ट बैङ्क

इन्भेस्टमेन्टले आगामी आर्थिक वर्ष ०७६/०७७ मा ४ अर्ब ६१ करोड ७९ लाख र ०७७/०७८मा बढेर ५ अर्ब २२ करोड ४१ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण गरेको छ ।

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्कले चालु आर्थिक वर्षमा ४ अर्ब ५ करोड रुपैयाँ भन्दा बढी खुदनाफा गर्ने भएको छ । ३ ओटा ठूला ऋणीबाट करिब ४ अर्ब ४६ करोड रुपैयाँ ऋण नउठेपछि तेस्रो त्रैमाशमा गम्भीर धक्का लागेको नेपाल इन्भेस्टमेन्टले यो वर्ष नाफा बढाउने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा बैङ्कले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको थियो ।

गत वर्षको सोही अवधिमा बैङ्कले २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ नाफा गरको थियो । ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ मात्र गरेको छ । ऋणपत्र (डिवेञ्चर) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको प्रक्षेपित वित्तीय विवरणमा गत आर्थिक वर्षको भन्दा नाफा बढ्ने देखाएको हो । इन्भेस्टमेन्टले लगानीयोग्य पुँजी जुटाउन जेठ २४ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्दै छ ।

इन्भेस्टमेन्टले आगामी आर्थिक वर्ष ०७६/०७७ मा ४ अर्ब ६१ करोड ७९ लाख र ०७७/०७८मा बढेर ५ अर्ब २२ करोड ४१ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा बैङ्कले ६ अर्ब ९२ करोड ७८ लाख रुपैयाँ खुदब्याज आम्दानी गर्ने छ । आगामी वर्ष ७ अर्ब ५८ करोड ९७ लाख र ३ वर्षमा ८ अर्ब ५० करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेर नाफा बढने अनुमान गरेको छ ।

बैङ्कको खुदसम्पत्ति बढेर प्रतिकित्ता २११, २२८ र २५० रुपैयाँ पुग्ने प्रक्षेपण बैङ्कको छ । यस्तै प्रतिसेयर आम्दानी (ईपीएस) चालु आवमा २३ रुपैयाँ १८, आगामी वर्ष ३६ रुपैयाँ ६८ र ३ वर्षमा बढेर ४१ रुपैयाँ ४९ पैसा पुग्ने अनुमान बैङ्कको छ ।

चालु आर्थिक वर्षमा निक्षेप वृद्धि ५.३, आगामी वर्ष १०.३ र ३ वर्षमा पनि १०.१ प्रतिशत हुने अनुमान गरिएको छ । यस्तै कर्जा लगानीतर्फ ९.८, १० र १०.१ प्रतिशत वृद्धि हुने प्रक्षेपण नेपाल इन्भेस्टमेन्टको छ ।

ऋणपत्रबाट उठेको रकममध्ये १ अर्ब ६० करोड रुपैयाँ कर्जा सापटी र ४० करोड रुपैयाँ तरलता व्यवस्थापनमा उपयोग गर्ने बैङ्कले जनाएको छ । ऋणपत्रको ब्याज १०.५ प्रतिशत हुने छ ।

उल्लेख गरिएका वित्तीय विवरण तथा प्रक्षेपणको अनुमान तथा आधारहरु हालको वित्तीय बजारको स्थिती, निष्कासनकर्ता कम्पनीको विगतका बर्षहरुको कारोबार वृद्धि, भावी योजना, शाखा सञ्जाल विस्तार गर्ने रणनीति, हालको दक्षता र निष्काशनकर्ता कम्पनीले प्राप्त गरेको हालसम्मको कार्य प्रगतिको आधारमा तयार पारिएको बैङ्कले स्पष्ट पारेको छ ।

बैङ्कले कर्जा निक्षेप अनुपात, संचालन खर्च बृद्धिदर, निष्क्रिय कर्जा प्रतिशत ,अनिवार्य नगद मौज्दात, बैधानीक तरलता अनुपात तथा पूँजीकोष अनुपातका साथै नेपाल राष्ट्र बैङ्कले तोकेको मापदण्ड अनुरुप कायम गरी वित्तीय विवरणको प्रक्षेपण गरेको इन्भेष्टमेन्टले स्पष्टपारको छ ।