जयनगर-कुर्था रेल सञ्चालन मिति सरेको सर्यै

६९ किलोमिटरको जनकपुर–बर्दिवास रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्मको ३४ किमि यसअघि नै निर्माण भइसकेको छ । रेल सञ्चालनका लागि नेपालले भारतीय रेलवे सेवा कम्पनीसँग सम्झौता गरी सञ्चालन गर्नेछ ।

काठमाडौं । असारसम्म जयनगर-कुर्था रेल सञ्चालन नचल्ने निश्चित भएको छ । रेल विभागले पटकपटक रेल सञ्चालन गर्ने मिति तोके पनि सञ्चालन हुन सकेको छैन । पछिल्लो समय विभागले चालू आर्थिक वर्षको असार मसान्तभित्र रेल खरिद गरी सञ्चालन गर्ने भने पनि भारतीय निर्वाचनले रेल खरिद नहुँदा उक्त समयभित्र रेल नचल्ने देखिएको हो ।

विभागले गत वर्षदेखि ३/४ पटक रेल सञ्चालन हुने मिति तोके पनि रेल सञ्चालन हुन सकेको छैन । चालू आर्थिक वर्षको अन्त्यभित्रै रेल खरिद गरी सञ्चालन गर्ने भनेको विभागले अहिलेसम्म रेल खरिद गर्न सकेको छैन ।

भारतीय निर्वाचनका कारण पनि रेल खरिद हुन नसक्दा तोकेको समयभित्र रेल सञ्चालन गर्न सम्भव नभएको रेल विभागका महानिर्देशक बलराम मिश्रले क्यापिटल नेपाललाई जानकारी दिए । ‘रेल खरिद गर्न भारतीय रेलवे कम्पनीसँग सम्झौता भइसकेको छ । भारतको चुनावले पनि केही ढिलाइ हुने भयो,’ उनले भने, ‘असारसम्म रेल सञ्चालन गर्ने योजना हो । केही ढिला हुने भयो । ५/६ महिनाभित्र जसरी पनि रेल सञ्चालन हुन्छ ।’

६९ किलोमिटरको जनकपुर–बर्दिवास रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्मको ३४ किमि यसअघि नै निर्माण भइसकेको छ । रेल सञ्चालनका लागि नेपालले भारतीय रेलवे सेवा कम्पनीसँग सम्झौता गरी सञ्चालन गर्नेछ ।

१ अर्ब रुपैयाँ खर्चेर आफ्नै स्वामित्वको रेल खरिद गर्ने प्रक्रिया अघि बढेको विभागका महानिर्देशक मिश्रले बताए । झन्डै १ अर्ब रुपैयाँको अनुमानित लागतको प्रस्ताव आई खरिद गर्न प्रक्रिया अघि बढिसकेको विभागले जनाएको छ । ‘ढिलोमा अबको ६ महिनाभित्रै रेल सञ्चालन गर्छौं,’ उनले भने, ‘दुई सेट डिब्बा र इन्जिन खरिद हुन मात्रै बाँकी छ । हामी पनि रेल कुरेरै बसेका छन् ।’

यो रेल सेवा डिजेल इलेक्ट्रिक मल्टिपल युनिट मोडेलको हुनेछ । यसअघि सन् २०१२ मा सञ्चालनमा रहेको रेल पुनः ७ वर्षपछि सञ्चालनमा आउनेछ । सरकारले जयनगर–बर्दिवास ६९ किमि रेल सञ्चालनका लागि १० अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ ।

यसअघि नै जयनगर–कुर्था रेल सञ्चालनका लागि आवश्यक पूर्वाधारका काम सकिएका छन् । रेल स्टेसन भवन, कर्मचारी क्वार्टर, पुल निर्माण, ट्र्याकबेल्ट तथा स्ट्रक्चर निर्माणको काम यसअघि नै सम्पन्न भइसकेका छन् ।

रेल सञ्चालन गर्न लम्बिँदो खरिद प्रक्रिया, आवश्यक पुँजी सङ्कलन, विद्युतीय पोल सार्न कठिनाइ, जग्गा तथा रुख कटान जस्ता समस्याका कारण पनि रेल सञ्चालनमा ढिलाइ भएको रेल विभागले जनाएको छ ।