एनआईसी एसियामा समस्या देखिएपछि ३ सय फाइलमा राष्ट्र बैङ्कको निगरानी

दोहोरो ‘ब्यालेन्ससिट’ बनाएर ऋण दिएको, निर्देशित कर्जा पनि आफूअनुकूल दिएको भेटिएपछि त्यस्ता ऋणका फाइलमाथि सूक्ष्म अध्ययन सुरु गरेको हो । केन्द्रीय बैङ्कको बैङ्क सुपरिवेक्षण विभागले एनआईसी एसिया गम्भीर समस्यामा पर्न सक्ने आकलन गर्दै आशङ्कित फाइलहरुमा सूक्ष्म अध्ययन थालेको हो ।

काठमाडौैं । निकै चर्चाका साथ आफ्नो उपस्थिति बलियो बनाउँदै आएको एनआईसी एसिया बैङ्कको खराब कर्जा बढेपछि नियामक नेपाल राष्ट्र बैङ्कले ‘तीन सय फाइल’ आफ्नो निगरानीमा राखेको छ ।

दोहोरो ‘ब्यालेन्ससिट’ बनाएर ऋण दिएको, निर्देशित कर्जा पनि आफूअनुकूल दिएको भेटिएपछि त्यस्ता ऋणका फाइलमाथि सूक्ष्म अध्ययन सुरु गरेको हो । केन्द्रीय बैङ्कको बैङ्क सुपरिवेक्षण विभागले एनआईसी एसिया गम्भीर समस्यामा पर्न सक्ने आकलन गर्दै आशङ्कित फाइलहरुमा सूक्ष्म अध्ययन थालेको हो ।

बैङ्कमा जोखिम बढेपछि राष्ट्र बैङ्कले दुई महिनाको फाइल अध्ययन गरेको छ । दुई महिनाको अवधिमा राष्ट्र बैङ्कले ३ सय ओटा फाइल अध्ययन गरेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार दोहोरो ब्यालेन्ससिट बनाएर लोन लिएको तथा निर्देशित कर्जा आफूअनुकूल ऋण लिएर मनलाग्दी रुपमा खर्च गरेको राष्ट्र बैङ्कको ठम्याइ छ । त्यसैका आधारमा केन्द्रीय बैङ्कले तत्काल २ अर्ब ८६ करोड रुपैयाँ प्रोभिजनिङ गर्न निर्देशनसहित व्यवस्थापनलाई पत्र पठाएको छ ।

एनआईसी एसियाले राष्ट्र बैङ्कका उच्च अधिकारीलाई मिलाएर बैङ्क अघि बढेको थियो । तर, पछिल्लो समय राष्ट्र बैङ्क आक्रामक भएपछि बैङ्कलाई ठूलो दबाब परेको छ । बैङ्कको व्यवस्थापनले गरेको गल्ती राष्ट्र बैङ्कले पत्ता लगाएपछि बैङ्क गम्भीर समस्यमा परेको एनआईसी एसिया स्रोतको दाबी छ ।

राष्ट्र बैङ्कले एनआईसी एसियाको बोर्डलाई बोलाएर तत्काल २ अर्ब ८६ करोड रुपैयाँ ‘लोन प्रोभिजनिङ’ गर्न भनेको छ । स्रोतका अनुसार दोहोरो ब्यालेन्ससिट बनाएर लोन लिएको तथा निर्देशित कर्जा आफूअनुकूल ऋण लिएर मनलाग्दी रुपमा खर्च गरेको राष्ट्र बैङ्कको ठम्याइ छ । त्यसैका आधारमा केन्द्रीय बैङ्कले तत्काल २ अर्ब ८६ करोड रुपैयाँ प्रोभिजनिङ गर्न निर्देशनसहित व्यवस्थापनलाई पत्र पठाएको छ ।

राष्ट्र बैङ्कले पहिलो चरणमा बोर्डसँग बैठक गरेर बैङ्कमा देखिएको समस्याका बारेमा जानकारी दिएको छ । एनआईसी एसियाको सञ्चालक समितिले पनि बैङ्कमा व्यवस्थापनले गलत अभ्यास गरेको निष्कर्ष निकालेको छ ।

निर्देशित कर्जाको नाममा लिएको ऋण उद्देश्यअनुरुप काम नभएको, बैङ्कले उक्त ऋणका बारेमा सूक्ष्म अध्ययन गर्नुपर्नेमा नगरेकोलगायत समस्या रहेको केन्द्रीय बैङ्कले औंल्याएको छ । स्रोतका अनुसार निर्देशित कर्जा लिएर सेयर खरिद गरेको समेत राष्ट्र बैङ्कको सुपरिवेक्षण विभागले पत्ता लगाएको छ ।

‘त्यस्ता लोन धेरै देखिएका छन्,’ राष्ट्र बैङ्कका एक अधिकारीले क्यापिटल नेपालसँग भने, ‘अहिले बैङ्कलाई लोन प्रोभिजनिङ गर्न भनेका छौं ।’

बैंकका जनसम्पर्क अधिकृत अर्जुन खनियाँले राष्ट्र बैंकले भर्खरमात्र निरिक्षण सकेको बताए । ‘राष्ट्र बैंकले निरिक्षण सकेर गएको छ, राष्ट्र बैंंकको रिपोर्ट बैंकसम्म आइपुगेको छैन,’ उनले भने ।