आन्तरिक ऋण मागभन्दा कम उठ्यो, ८६ अर्ब माग्दा ५३ अर्ब ३८ करोड मात्र

३२ अर्ब ६२ करोड रुपैयाँ नउठेको राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भटट्ले बताए । विकास ऋणपत्रमा ११ प्रतिशतसम्म ब्याजदर प्रस्ताव आएपछि यसलाई कटअफ गर्दा कम मात्र ऋणपत्र बिक्री भएको उनको भनाई छ ।

काठमाडौं । बैङ्कहरुले धेरै ब्याजदर प्रस्ताव गरेपछि नेपाल राष्ट्र बैङ्कले माग भन्दा कम आन्तरिक ऋण उठाएको छ । केन्द्रीय बैङ्कले सरकारका लागि ८६ अर्ब रुपैयाँ उठाउन आन्तरिक ऋणको क्यालेण्डर सार्वजनिक गरेको थियो ।

अन्तमा राष्ट्र बैङ्कले ५३ अर्ब ३८ करोड रुपैयाँ मात्र उठाएको छ । ३२ अर्ब ६२ करोड रुपैयाँ नउठेको राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भटट्ले बताए ।

विकास ऋणपत्रमा ११ प्रतिशतसम्म ब्याजदर प्रस्ताव आएपछि यसलाई कटअफ गर्दा कम मात्र ऋणपत्र बिक्री भएको उनको भनाई छ । केन्द्रीय बैङ्कले ब्याजदर कटअफ गरेर विकास ऋणपत्रमा ६.५ प्रतिशत र ट्रेजरी विल्सको ब्याजदर ५.५ प्रतिशतमा सीमित गरेको उनको भनाई छ । सरकारले विकास ऋणपत्र र ट्रेजरी विल्स वित्तीय औजारमार्फत आन्तरिक ऋण उठाएको हो ।

सरकारलाई फेरी चाहिएमा राष्ट्र बैङ्कले आन्तरिक ऋणको नयाँ क्यालेण्डर बनाउनु पर्ने उनको भनाई छ । विकास ऋणपत्रमा ११ प्रतिशत ब्याजदर दियो भने बैङ्कले निष्कासन गर्ने ऋणपत्रको ब्याजदर १५ प्रतिशतसम्म पुग्ने बताउदै उनले भने यसलाई नियन्त्रण गरेको बताए ।

‘वित्तीय स्थायित्व हेरेर इल्डपाथ बनोस भन्ने हो । हामीले १० प्रतिशत ब्याजमा ऋणपत्र स्वीकार गरेको भए बजारको ब्याजदर निकै माथि जाने थियो । वित्तीय स्थायित्वका लागि कटअफ गरिएको हो,’ उनले भने । सरकारको विकास खर्च कम हुने भएकाले आन्तरिक ऋण नउठाउनु पर्ने अवस्था पनि आउन सक्ने देखिएको छ ।

हाल अन्तरबैङ्क ब्याजदर ६ प्रतिशत रहेको छ । यस्तै बैङ्किङ्ग प्रणालीमा अनिवार्य नगद अनुपात (सीआरआर) बाहेक ३० अर्ब रुपैयाँ तरलता छ ।