देव विकासले वेस्टर्न डेभलपमेन्ट बैङ्कलाई एक्वायर गर्ने, स्वाप रेसियो बराबर

देवले वेस्टर्नलाई प्राप्ति गरेपछि चुत्तापुँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । प्राप्तिपछि देव विकास बैङ्कको नाममा वित्तीय कारोबार हुने छ ।

काठमाडौं । देव विकास बैङ्कले वेस्टर्न डेभलपमेन्ट बैङ्कलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । प्राप्ति प्रक्रियालाई पारित गर्न दुबै बैङ्कले असार १२ गते साधारणसभा बोलाएका छन् ।

दुबै बैङ्कको सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) बराबर हुने भएको छ । वेस्टर्नको १ बराबर देवको पनि १ हुने गरी स्वाप रेसियो तय गरिएको छ । दुबै बैङ्कको सभाले देवले वेस्टर्नलाई प्राप्ति गर्नका लागि गरेको समझदारीपत्र (एमओयू), स्वाप रेसियो, लेखापरीक्षकले तयार पारेको सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) र प्राप्ति गर्ने अन्तिम प्रस्तावलाई सभाले पारित गर्नेछ ।

देवको १२ औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने सञ्चालक समितिले प्रस्ताव गरेको ५.५ अर्थात १३ करोड ९३ लाख रुपैयाँ बोनस सेयर स्वीकृति गर्नेछ ।

यस्तै वेस्टर्नको १३ औं वार्षिक साधारणसभाले स्वाप रेसियो र प्राप्ति सम्झौतालाई पारित गर्नेछ । वेस्टर्नले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १४.७४ प्रतिशत अर्थात ७ करोड ४२ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव सभाले पारित गर्नेछ ।

वेस्टर्नको चुत्तापुँजी ५० करोड ४० लाख रुपैयाँ रहेको छ । देवको चुत्तापुँजी २ अर्ब ५३ करोड ३६ लाख रुपैयाँ छ । देवले वेस्टर्नलाई प्राप्ति गरेपछि चुत्तापुँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । प्राप्तिपछि देव विकास बैङ्कको नाममा वित्तीय कारोबार हुने छ ।

नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको बजेटमा मर्जर र प्राप्ति प्रक्रियालाई प्रोत्साहित गर्न कर छुटको म्याद एक वर्ष थप गरेको छ । यसबीचमा झण्डै दुई दर्जन बैङ्क तथा वित्तीय संस्था मर्जर र प्रप्तिका लागि प्रक्रिया अघि बढाएका छन् । मर्जर र प्राप्ति प्रक्रियामा सहभागी हुने बैङ्क तथा वित्तीय संस्थाले कर छुट सहुलियत पाउँदै आएका छन ।