खनिज तथा हर्वल प्रशोधन, पाइप फिटिङ्स, पानी ट्याङकी, एलईडी लाइट, स्टील अटेन्सियल्सलगायत २० ओटा उद्योग सञ्चालनका लागि यो रकम भित्रिएको हो ।
काठमाडौं । सरकारले स्थापना गरेको विशेष आर्थिक क्षेत्र (सेज) भैरहवामा विभिन्न उद्योगले ७ अर्ब रुपैयाँ लगानी गरेका छन । खनिज तथा हर्वल प्रशोधन, पाइप फिटिङ्स, पानी ट्याङकी, एलईडी लाइट, स्टील अटेन्सियल्सलगायत २० ओटा उद्योग सञ्चालनका लागि यो रकम भित्रिएको हो । यी उद्योगबाट ३ हजारले रोजगारी पाउने भएका छन् । भैरहवा सेज सञ्चालनमा आइसकेको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र इकोनोमिक पोलिसी इन्कुवेटर युके एडले सोमबार राजधानीमा आयोजना गरेको छलफलमा ७ ओटै प्रदेशमा सेज स्थापना गर्न लागेको जानकारी गराइएको छ । जसअनुसार विराटनगर, सीमरा, पाँचखाल, गोरखा, भैरहवा, जुम्ला र धनगढीमा सेज स्थापना गर्ने योजना रहेको छ ।
मोरङको बुर्ज गाउँपालिकामा स्थापना हुन लागेको सेजको विस्तृत इन्जिनिरिङ अध्ययन (डीपीआर) को काम सकिएको छ । बाराको जितपुर उपमहानगरपालिकाको सिमरामा गार्मेन्ट प्रशोधन केन्द्र सञ्चालनका लागि सुचना प्रकाशित गरिएको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ ।
यस्तै पाँचखालमा सेजको निर्माण कार्य सुरु, गोरखा नगरपालिकामा संभाव्यता अध्ययनको काम सम्पन्न, भैरहवाको रोहणी गाउँपालिकामा सेज सञ्चालनमा आइसकेको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा प्रस्ताव गरिएको सेजको डीपीआर तयार र धनगढीमा अध्ययन सकिएको प्राधिकरणले जनाएको छ ।