कुलमानसँग घुस माग्ने सांसद अमनलाल मोदीको अवरोध कायमै

सुनसरीको दुहवी सवस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा सांसद मोदीको नेतृत्वमा अवरोध छ ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग ५ लाख रुपैयाँ घुस माग्ने नेकपाका सांसद अमनलाल मोदीले सवस्टेशन सञ्चालनमा अवरोध जारी राखेका छन् ।

सांसद मोदीले मोरङको कटहरी ग्रामस्थानमा निर्माण गरिएको सवस्टेसन सञ्चालन गर्न नदिएपछि बिजुली आपूर्ति हुन सकेको छैन । विद्युत प्राधिकरणले आयोजनाको सबै सरंचना बनाइ सवस्टेशन चार्ज गर्न मात्र बाँकी छ । सवस्टेशन चार्ज भएपछि विद्युत आपूर्ति सुचारु हुने छ ।

सवस्टेसन सञ्चालन गर्न अझै अवरोध रहेको कार्यकारी निर्देशक घिसिङ्गले बताए । मोरङ्ग उद्योग वाणिज्य संघले पहल गरे पनि सांसद मोदीले अवरोध जारी राखेका छन् ।

विद्युत आपूर्ति गर्न नपाएपछि प्राधिकरणले सबै संरचना तयार मात्र गरेर छाड्ने भएको छ । बिजुली आपूर्ति नभएमा केही समयपछि त्यसक्षेत्रमा विद्युतभार कटौती (लोडसेडिङ्ग)हुने उनले बताए । सुनसरीको दुहवी सवस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा सांसद मोदीको नेतृत्वमा अवरोध छ ।

अवरोधको नेतृत्व सांसद मोदीले गर्दै आएका छन । कटहरी सवस्टेसन तत्काल चार्ज भएन भने यसको असर विराटनगरको केही क्षेत्रमा पर्ने प्राधिकरणको भनाई छ ।स्थानीयको अवरोधका कारण सडकको छेउमा गाडिएको पोलमासमेत साढे तीन किलोमिटर तार तान्न सकिएको छैन । ग्रामथान मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।

सांसद मोदीले ५ लाख रुपैयाँ दिए मात्र सवस्टेसन सञ्चालन गर्न दिने अडान लिएपछि विवाद सतहमा आएको हो ।उनले अहिले पनि पैसा दिए मात्र सवस्टेसन सञ्चालन गर्न दिने भनेर आयोजनासँग वार्गेनिङ्ग गरिरहेका छन् । सांसद मोदीले उद्योगले एक रुपैयाँ पैसा नदिएकाले उनीहरुलाई त्यसै बिजुली दिन नसकिने भन्दै विद्युत प्राधिरणको आयोजनाले पैसा दिनुपर्ने भनेका थिए ।

‘उद्योगलाई बिजुली दिन सवस्टेसन बनेको हो, उद्योगले अहिलेसम्म मलाइ १ रुपैयाँ दिएका छैनन्, मागेको पैसा दिनुपर्छ अनिमात्र सवस्टेसन चार्ज गर्न दिने अडान मोदीले लिएका छन् । सवस्टेशन सञ्चालन गर्न नदिएपछि ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले अनुरोध गर्दा पनि सांसद मोदीले अटेर गरिरहेका छन्। ।

एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा निर्माण भएको सवस्टेसन हो । देशभरी एडीबीको ऋणमा ७५ ओटा सवस्टेसन निर्माण भइरहेका छन्।

मोदीलाई सांसद महेश बस्नेतको साथ

नेकपाका सांसद महेश बस्नेतले मोरङको कटहरिस्थित गिदानियमा विद्युत आपूर्तिमा अवरोध गर्दै आएका मोदीलाई साथ दिएका छन् । उनले सवस्टेसन अवरोधको विषयमा एक शब्द पनि नबोली नेपाल विद्युत प्राधिकरणका कामको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले छानबिन गर्नुपर्ने बताएका छन् ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट छलफलमा भाग लिदै उनले सांसद मोदीले उठाएका कुरा सही भएको भन्दै उनलाई साथ दिएका थिए ।