अपी पावरले ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना बनाउँदै, ४ वर्षमा सक्ने

अपीले चमेलियाबाट २०७९ फागुन १३ गते विद्युत उत्पादन गर्ने योजना विभागमा पेश गरेको छ । नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाबाट २६ करोड ६४ लाख १६ हजार युनिटि बिजुली उत्पादन हुने छ ।

काठमाडौं । सरकारले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ ।

प्रवद्र्धक अपी पावर कम्पनी लिमिटेडले लाइसेन्स दिन माग गरेपछि विद्युत विकास विभागले प्रक्रिया अघि बढाएको हो । अपीले गरेको प्रस्तावअनुसार ३५ दिनका लागि सार्वजनिक सूचना जारी गरेको छ । ३५ दिनपछि अपीले विद्युत उत्पादनको लाइसेन्स पाउने छ ।

अपीले चमेलियाबाट २०७९ फागुन १३ गते विद्युत उत्पादन गर्ने योजना विभागमा पेश गरेको छ । नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाबाट २६ करोड ६४ लाख १६ हजार युनिट बिजुली उत्पादन हुने छ । अपीले चमेलियाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणसंग खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।

हाल अपीले ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८ मेगावाटको अपर नौगाड आयोजनाको काम अन्तिम चरणमा पुगेको अपीले जानकारी दिएको छ ।३ ओटा आयोजनासमेत गरी गरी अपीको जडित क्षमता ५६.५ मेगावाट पुग्ने छ ।

चमेलिया आयोजना दार्चुलाको अपी हिमाल गाउँपालिकामा पर्छ । आयोजनाको मुल संरचना चमेलिया खोलाको बायाँ किनारमा पर्छ । बाँध अपी गाउँपालिका र विद्युतगृह मार्मा गाउँपालिकामा रहेको छ । २०४ मिटरबाट पानी खसालेर ४० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली १६ किलोमिटर लामो प्रसारणलाइनबाट जिल्लाको बलाँच सवस्टेशनको राष्ट्रिय प्रणालीमा जोडिने छ ।
अपीले चमेलिया आयोजना बनाउनका लागि आवश्यक लगानी जुटाउन २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । अपीले २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनको तयारी गरेको हो ।