कारोबार बढेपछि अन्तर बैङ्क ब्याजर ७ प्रतिशत पुग्यो, राष्ट्र बैङ्कले १५ अर्ब पठाउदै

अन्तर बैङ्क ब्याजदर ७ प्रतिशत पुगेपछि यसलाई वान्छित सीमामा ल्याउन बजारमा पैसा पठाउन लागेको राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए ।

काठमाडौं । अन्तर बैङ्क कारोबारको ब्याजदर सीमा नाघेपछि नेपाल राष्ट्र बैङ्कले बिहीबार बजारमा १५ अर्ब रुपैयाँ पठाउने भएको छ । केन्द्रीय बैङ्कले रिपो वित्तीय औजारमार्फत बजारमा पैसा पठाउन लागेको हो ।

७ दिनका लागि निष्कासन गर्न लागिएको रिपो जेठ ३० गते परिपक्व हुने छ । ५ प्रतिशत भन्दा कम ब्याजदर प्रस्ताव गर्न नपाइने व्यवस्था छ ।
अन्तर बैङ्क ब्याजदर ७ प्रतिशत पुगेपछि यसलाई वान्छित सीमामा ल्याउन बजारमा पैसा पठाउन लागेको राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए ।

ब्याजदर करिडोर नीतिअनुसार अन्तर बैङ्क ब्याजदर ६.५ प्रतिशत सीमा भन्दा माथि जान नपाउने व्यवस्था भएकाले कट्न साथ पैसा पठाएर रोक्ने गरेको उनले जानकारी दिए ।

गत पुसमा राष्ट्र बैङ्कले अन्तर बैङ्क कारोबारलाई पनि निक्षेपमा गणना गर्न सुविधा दिएपछि बैङ्कहरुलाई कर्जा प्रवाह गर्न थप स्रोत जुटेपछि उनीहरु अन्तर बैङ्कतर्फ लागेको उनको भनाई छ ।

अन्तर बैङ्क सापटी निक्षेपमा गणाना गर्न  पाइने भएपछि गत माघदेखि  ब्याजदर माथि गएको हो । ९ महिनामा ११ खर्ब ६५ अर्ब रुपैयाँ अन्तर बैङ्क कारोबार भएको छ ।