मर्जर र प्राप्तिमा आक्रमक प्राइम कमर्शियल बैङ्क, एक दर्जन संस्थासँग थाल्यो छलफल

प्राइमले ज्योति विकास बैङ्क, गण्डकी विकास बैङ्क, लुम्बिनी विकास बैङ्क, कञ्चन डेभलपमेन्ट बैङ्क, सिन्धु विकास बैङ्क, कम्युनिटी डेभलपमेन्ट बैङ्क, सिर्जना फाइनान्स लिमिटेड, वेष्ट फाइनान्स लिमिटेड, र रिलायन्स फाइनान्स लिमिटेडसँग गम्भीर छलफल गरेको स्रोतले बतायो ।

काठमाडौं । प्राइम कमर्सियल बैङ्कले एक दर्जन बैङ्क तथा वित्तीय संस्थासँग (एकआपसमा गाभ्ने (मर्जर) र प्राप्ति (एक्वायर) लाई एकसाथ छलफल अघि बढाएको छ ।

बुधबार कन्काइ विकास बैङ्कसँग एक्वारका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको प्राइमले शनिबारसम्म कैलाश विकास बैङ्कलाई पनि एक्वायर गर्ने भएको छ । ढिलोमा शनिबारसम्म कैलाश विकाससंग एमओयू भइसक्ने प्राइम स्रोतले क्यापिटल नेपाललाई बतायो । सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) विषयमा कुरा टुङ्ग्याउन बाँकी छ ।

प्राइमको १०० कित्ता बराबर कन्काइको ७१ कित्ता हुने गरी स्वाप रेसियो कायम गर्ने सहमति भएको छ । प्राइमले ओम डेभलपमेन्ट बैङ्कलाई प्राप्ति गर्न असफल भएपछि कन्काइलाई एक्वायर गर्न लागेको हो । ओमलाई एनएमबी बैङ्कले प्राप्ति गर्ने भएको छ ।

प्राइमले ज्योति विकास बैङ्क, गण्डकी विकास बैङ्क, लुम्बिनी विकास बैङ्क, कञ्चन डेभलपमेन्ट बैङ्क, सिन्धु विकास बैङ्क, कम्युनिटी डेभलपमेन्ट बैङ्क, सिर्जना फाइनान्स लिमिटेड, वेष्ट फाइनान्स लिमिटेड, र रिलायन्स फाइनान्स लिमिटेडसंग गम्भीर छलफल गरेको स्रोतले बतायो ।

कुरा मिल्दै गएपछि सोहीअनुसार एमओयू गर्ने तयारी प्राइमको छ । सबैसँग एकसाथ छलफल भइरहेकाले कुन संस्थासँग पहिला एमओयू हुन्छ भन्न नसकिने अवस्था रहेको स्रोतको भनाई छ । धेरै बैङ्क तथा वित्तीय संस्थालाई एक्वायर गरेर ठुलो बैङ्क बन्ने योजना प्राइमको छ ।

हाल प्राइमको चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ छ । गत चैत मसान्तसम्म प्राइमको निक्षेप ६८ अर्ब ६५ करोड रुपैयाँ छ । नेपाल राष्ट्र बैङ्कले दबाब दिएको र सरकारले पनि बजेटमा ठूला बैङ्को मर्जर र प्राप्तिलाई प्रोत्साहन गरी कर छुटको समय १ वर्ष थप गरेको छ ।

बजेटमा ठुला बैङ्क तथा वित्तीय संस्थालाई मर्जर र प्राप्तिलाई प्रोत्साहित गर्दै कर छुटको व्यवस्था गरेको छ । यस्तै आगामी वर्षको मौद्रीक नीतिमा केन्द्रीय बैङ्कले मर्जरका लागि विशेष योजना ल्याउने तयारी गरेको छ ।

झण्डै दुई दर्जन बैङ्क तथा वित्तीय संस्था मर्जर र प्राप्ति प्रक्रियामा सहभागी भएका छन् । केहीले एमओयू गरेका छन भने कतिपयले मर्जर र प्राप्त गर्न विशेष साधारणसभा बोलाएका छन् ।