काष्ठमण्डप पुनः निर्माणको काम ३० प्रतिशत

काष्ठमण्डप पुनः निर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।

काठमडौं । काष्ठमण्डप पुनः निर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।

असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी काम तीव्ररुपमा भइरहेको जनाइएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार निर्माणको कामअन्तर्गत अहिले चौघेरामा गारो लगाउने र बिम राख्ने काम भइरहेको छ ।अध्यक्ष शाक्यका अनुसार २०७६ असार मसान्तसम्ममा पहिलो तलाको काम सम्पन्न गरी अर्को तलाको काम सुरु गरिनेछ ।

गोरखा भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डप आगामी तीन वर्षमा सक्नेगरी निर्माणको काम भइरहेको पनि समितिले बताएको छ । निर्माणका लागि यसअघिका पुराना काठमध्ये १० देखि १५ प्रतिशत मात्र काठ पुनःप्रयोग गर्न सकिने अवस्थामा छ ।

गत माघ २७ गते श्रीपञ्चमीका दिन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । उक्त दिन काष्ठमण्डपको मुख्य चार थाम उठाइएको हो । प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ प्रयोग गरिएको हो भने एउटा पुरानै प्रयोग गरिएको छ । कामपाले पुनःनिर्माण समितिलाई हालसम्म पाँच करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिसकेको छ ।

काष्ठमण्डपलाई प्राचीनस्वरूपमै तयार गरिनेछ । पुरानै स्वरूपअनुसार तीन तलाकै बनाइने छ । मन्दिरमा नेपाली सालको काठ प्रयोग गरिनेछ । काष्ठमण्डपमा धेरै डिजाइनका काठ प्रयोग हुनेछन् तर एकै रुखका हुने छैन । आठ फिटभन्दामाथिका एक हजार २५६ क्युबिक फिटका काठ प्रयोग गरिनेछ । आठ फिटभन्दा तलका काठ पनि ठाउँठाउँमा प्रयोग हुनेछन् । पुनःनिर्माणपछि मन्दिरको छानो भने झिँगटीले सजिने छ ।

भूकम्प गएको लामो समयपछि गत पुसदेखि धरहरा, माघदेखि काष्ठमण्डप र फागुनदेखि रानीपोखरी पुनःनिर्माण शुरु गरिएको थियो । विसं २०७२ वैशाख १२ गते भूकम्पले गर्दा यी तीनै सम्पदामा पूर्णरुपमा क्षति पुगेको थियो । अघिल्लो वैशाख ३१ गते काष्ठमण्डप निर्माणका लागि क्षमा पूजा गरिएको थियो । क्षमा पूजा कुनै पनि काम गर्दाको अवधिमा कुनै पनि किसिमको बाधा अवरोध नआओस् भनेर गरिने कार्य हो । रासस