दुई दर्जन बैङ्क तथा वित्तीय संस्थाले गरे मर्जर र एक्वायरको एमओयू, कुन संस्था कोसँग ?

नाफा बढाउन, खरो प्रतिस्पर्धामा उत्रिन, पुँजीगत आधार बलियो बनाई कर्जा विस्तार, सेयरको बुक भ्यालु बढाउन बैङ्क तथा वित्तीय संस्था मर्जरमा गएका हुन् । बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या बढी भएको भन्दै केन्द्रीय बैङ्कले २०७२ को मौद्रिक नीतिमा चुक्ता पुँजी ४ गुणासम्म बढाएको थियो ।

काठमाडौं । बैङ्क तथा वित्तीय संस्था धमाधम आपसमा गाभिन (मर्जर) र प्राप्ति (एक्विजिसन) मा जान थालेका छन् । हालसम्म बैङ्क तथा वित्तीय संस्था गरी दुई दर्जनले एमओयू गरेका छन् । नेपाल राष्ट्र बैङ्कको दबाब र सरकारले आगामी आर्थिक वर्षको बजेटमा मर्जर र प्राप्तिलाई जोड दिएपछि बैङ्क तथा वित्तीय संस्था मर्जर र प्राप्तिको प्रक्रियामा सहभागी हुन थालेका हुन् ।

यसबीचमा केही विकास बैङ्क र वित्त कम्पनीलाई वाणिज्य बैङ्कहरुले प्राप्ति गर्न लागेका छन् । हालसम्म दुई दर्जनभन्दा बढी बैङ्क तथा वित्तीय संस्थाले मर्जरमा जान समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

प्राइम कमर्सियल बैङ्कले झापामा रहेको कन्काई विकास बैङ्क र ललितपुर फाइनान्स कम्पनी लिमिटेड, एनएमबी बैङ्कले राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्कले जेबिल्स फाइनान्स लिमिटेड र ग्लोबल आईएमई बैङ्कले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्ने भएका छन् । ग्लोबल आईएमईले प्राप्ति गर्ने भएपछि हाथवेले ५४ करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन रद्द गरेको छ । प्राइमले कन्काईलाई ७१ र ललितपुर फाइनान्सलाई २० प्रतिशतमा एक्वार गर्न लागेको छ ।

यस्तै ग्लोबल आईएमईले कुमारी र नेपाल बङ्गलादेश बैङ्कसँग मर्जरका लागि छलफल गरिरहेको छ । निष्कर्षमा पुगेको छैन । मर्जरमा जान ग्लोबल आईएमईले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छैन । यसैगरी मेगा बैङ्कले पनि मर्जरमा जान विभिन्न बैङ्कसँग छलफल अघि बढाएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुँजेलीले जानकारी दिएकी छिन् ।

देव विकास बैङ्कले कञ्चनपुरमा रहेको वेस्टर्न डेभलपमेन्ट बैङ्कलाई बराबरी अनुपातमा एक्वायर गर्दै छ । एक्वायर गर्ने प्रस्ताव पारितका लागि असारमा साधारणसभा बोलाएका छन् ।

बुटवलमा रहेका साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क र पूर्णिमा विकास र भागर्व विकास बैङ्कले मर्जरमा जान एमओयू गरेका छन् । यी दुई मर्जर भएपछि राष्ट्रिय स्तरको विकास बैङ्क बन्नेछ ।

यता केन्द्रीय बैङ्कले पुँजी बढाउन हकप्रद सेयर निष्कासन र बोनस सेयर दिन रोक लगाएपछि लघुवित्त संस्था मर्जरमा जान थालेका छन् । राष्ट्र बैङ्कले दबाब दिएपछि लघुवित्त संस्था धमाधम मर्जरमा थालेका छन् । केन्द्रीय बैङ्कले १८ लघुवित्तलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति नदिएपछि पुँजी बढाउन धमाधम मर्जरमा जान थालेका हुन् ।

लघुवित्त संस्थाको संख्या अधिक भएको ठहर गर्दै राष्ट्र बैङ्कले मर्जरमा जान दबाब दिँदै आएको छ । हालसम्म ९ ओटा लघुवित्त मर्जरमा जान समझादारीपत्र (एमओयू) गरेका छन् । स्वेडा लघुवित्त वित्तीय संस्थाले पनि मर्जर र प्राप्तिको प्रक्रियामा सहभागी हुने भएको छ । स्वेडाले वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गराउँदै छ ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरमा जाने सहमति भएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान माइक्रोफाइनान्स लिमिटेडबीच मर्जरमा जान एमओयू भइसकको छ । नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी माइक्रोफाइनान्स लिमिटेडबीच पनि मर्जरमा जान एमओयू भइसकेको छ ।

त्यसैगरी साधना लघुवित्त वित्तीय संस्था र आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । दुवै संस्थाले प्राप्तिका लागि विशेष साधारणसभा बोलाएका छन् । हालसम्म ९९ ओटा लघुवित्त संस्था छन् । थप १५ ओटा पाइपलाइनमा रहेका छन् ।

नाफा बढाउन, खरो प्रतिस्पर्धामा उत्रिन, पुँजीगत आधार बलियो बनाई कर्जा विस्तार, सेयरको बुक भ्यालु बढाउन बैङ्क तथा वित्तीय संस्था मर्जरमा गएका हुन् । बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या बढी भएको भन्दै केन्द्रीय बैङ्कले २०७२ को मौद्रिक नीतिमा चुक्ता पुँजी ४ गुणासम्म बढाएको थियो ।

कुल १६५ ओटा बैंक तथा वित्तीय संस्था मर्जर र प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२३ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएको राष्ट्र बैङ्कले जनाएको छ ।