अर्थमन्त्रीले लगानीकर्तालाई भने –डेब्ट इक्विटीमा झेली गर्यो, कसरी हुन्छ सेयर बजारको विकास ?

‘बैङ्कले डेब्ट–इक्विटी खोज्छ, लगानीकर्ताले ३० प्रतिशत स्वपुँजी हाल्छु भनेको हुन्छ । सकेसम्म उसले हाल्दैन । तानतुन गरेर ३० प्रतिशत पुर्याएको देखाएर ऋण लगानी गराउछ’, अर्थमन्त्रीले भने ‘भरसक इक्विटीलाई १० देखि १५ प्रतिशत मात्र राखेको छु भनेर ओभर डेब्ट एक्सपोजर देखायो र त्यसको जोखिम बैङ्कमा लगेर डम्प गर्यो अनि चुप लागेर बस्यो। हामीले यस्तो प्रणाली खोजेको हो ?’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताले कम्पनीमा राख्नुपर्ने चुत्तापुँजीको न्युनतम ३० प्रतिशत स्वपुँजी (इक्विटी) नराखी सबै जोखिम बैङ्कमा डम्प हुने गरेको बताउदै यस्तो काम नगर्न लगानीकर्तालाई चेतावनी दिएका छन ।

नेपाल धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सवलाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले लगानीकर्ताले आफनो तर्फबाट इक्विटी कम राखेर सबै भार ऋणमा पार्दा बैङ्कमा पार्दा यसको असर सेयर बजारमा परेको उनको तर्क छ ।

‘बैङ्कले डेब्ट–इक्विटी खोज्छ, लगानीकर्ताले ३० प्रतिशत स्वपुँजी हाल्छु भनेको हुन्छ । सकेसम्म उसले हाल्दैन । तानतुन गरेर ३० प्रतिशत पुर्याएको देखाएर ऋण लगानी गराउछ’, अर्थमन्त्रीले भने ‘भरसक इक्विटीलाई १० देखि १५ प्रतिशत मात्र राखेको छु भनेर ओभर डेब्ट एक्सपोजर देखायो र त्यसको जोखिम बैङ्कमा लगेर डम्प गर्यो अनि चुप लागेर बस्यो। हामीले यस्तो प्रणाली खोजेको हो ?’

‘डेब्ट इक्विटी भनेको जोखिम बाँडफाँडको संयन्त्र हो । यसमै झेली गरियो भने त धितोपत्र बजार र पुँजीबजार कसरी विकास हुन्छ ?’, उनले भने ‘त्यसैले डेब्ट इक्विटीमा झेली नगरौ, चाहे ती पुर्वाधारका आयोजना हुन वा अन्य परियोजना हुन । यसले स्वस्थ पुँजीबजारको विकासमा सहयोग पुर्याउँछ ।’

कम्पनीमा हुने जोखिम बाँड्न ७० र ३० को लगानी संरचना तयार पारिएको बताउदै उनले भने ‘आफनो तर्फबाट गर्नुपर्ने लगानी नगरी सबै ऋणमा थुपार्र्दा जोखिम जति सबै बैङ्कमा पार्किङ्ग हुन गएको छ । जोखिम बैङ्कले मात्र हैन लगानीकर्ताले पनि लिनुपर्छ ।’

लगानीकर्ताले आफनो तर्फबाट सकेसम्म धेरै कम मात्र स्वपुँजीको रुपमा लगानी गर्ने तर सबै जोखिम बैङ्कलाई पार्किङ्ग गर्दै आएको भन्दै उनले असन्तुष्ठि व्यक्त गरे ।

ब्याजदर अस्वभाविक रुपम बढ्दै जादा यसको असर सेयर बजारमा परेको अर्थमन्त्री खतिवडाको भनाइ छ । राष्ट्र बैङ्कल नियमन नगरेको भए आज ब्याजदर बढेर अनियन्त्रित हुने भन्दै उनले केन्द्रीय बैङ्कको नियमनले रोकेको बताए ।

ब्याजदर नियन्त्रण नगरेको भए आज कुनै पनि जलविद्युत आयोजना आर्थिक रुपमा संभाव्य नहुने उनको भनाई थियो । सरकारले आगामी आर्थिक वर्षदेखि पुँजीगत लाभकर घटाएर ५ प्रतिशत कायम गरेको उनले बताए ।

नेपालको अर्थतन्त्र उदयीमान देखिएकाले सबै कम्पनी नाफामा गएको जानकारी दिदै अर्थमन्त्रीले भने ‘यसको प्रतिबिम्व सेयर बजारमा हुनुपर्छ ।’

सो अवसरमा नेपाल उद्योग परिसघका अध्यक्ष सतिशकुमार मोरले उत्पादनमुलक उद्योगलाई पनि पुँजीबजारमा ल्याउनुपर्ने बताए ।