भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिँदै

नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो ।

रत्ननगर, । बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो ।

भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले सामान्यतया विमानस्थल निर्माण भएको सातदेखि १० वर्षभित्र कालोपत्र गरिनु पर्ने बताए । प्रधिकरणले देशभरकै विमानस्थललाई मर्मत गर्दा बजेट र समय तालीका मिलाउनुपर्ने भएकाले कालेपत्र गर्न ढिलाइ भएको उनको भनाई थियो ।

गौतमका अनुसार गौरी पार्वती निर्माण सेवाले असारको १५ गतेसम्म धावनमार्गको काम सक्ने गरी काम अघि बढाएको छ । एक हजार २०० मिटर लम्बाइ रहेको यहाँको धावनमार्गमा ६ सेमी मोटाइको कालेपत्र गरिँदै छ । त्यस्तै निर्माण कम्पनीले कालोपत्रसहित, विमान तथा गाडी पार्किङ, ढललगायतको काम गर्नेछ ।

धावनमार्ग कालोपत्र गर्ने भएपछि उडान समय बिहान ९ः३० देखि बेलुका ३ बजेसम्म मात्र गरिएको छ । ‘मर्मतका समयमा उडान रोकेर काम गर्ने चलन छ’, उनले भने, ‘बिरामीलाई लक्षित गरेर बिहान बेलुकी काम गरेका छौँ । कालोपत्रको क्रममा कुनै पनि दिन उडान रोक्दैनौँ ।’ भरतपुर विमानस्थलबाट एकतर्फी रुपमा औसत दैनिक पाँच सय यात्रुले यात्रा गर्दै आएका छन् । बुद्ध एयर, यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन् । रासस