सडक सञ्जालमा प्राथमिकता

आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार शीर्षकमा दाङ तुलसीपुर १२ स्थित टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापना र धावन मार्ग विस्तारका लागि केन्द्रीय सरकारसँग बजेटको माग गर्ने उल्लेख गरिएको छ ।

लमही । दाङ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ मा सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखेको छ ।

उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आगामी आवमा ६० किलोमिटर सडक कालोपत्रे गर्ने नीति अघि सारेको बताए । “यस वर्ष हामीले १५ किलोमिटर सडक कालोपत्रे गर्यौँ”, उनले भने, “आगामी वर्ष सडक निर्माण वर्षका रुपमा योजना अगाडि सारेर ६० किलोमिटर सडक कालोपत्रे गर्ने छौँ ।” सडक नै समृद्धिको आधार भएको भन्दै सडकलाई प्राथमिकतामा दिईएको उनको भनाइ छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार शीर्षकमा दाङ तुलसीपुर १२ स्थित टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापना र धावन मार्ग विस्तारका लागि केन्द्रीय सरकारसँग बजेटको माग गर्ने उल्लेख गरिएको छ । साथै उपमहानगरपालिकाका सबै नागरिकमा विद्युत् तथा वैकल्पिक ऊर्जा पुर्याउने, शहरी क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने, ढल निकास तथा प्रशोधन केन्द्र स्थापना गर्ने नीति अघि सारिएको प्रमुख पाण्डेले बताए ।

त्यस्तै आगामी आवमा उपमहानगरपालिकाले सवारी साधनमा जीपीएस जडान गरिने, शहरी क्षेत्रमा एम्बुलेन्स, दमकल पुग्न सक्ने गरी संरचना निर्माण गर्ने, टोलस्टरका सडक ८ मिटर, दुई वा दुईभन्दा बढी टोल जोड्ने सडक १० मिटर र सोभन्दा बढी वडा जोड्ने सडक १२ मिटर हुनेुपर्ने मापदण्ड लागुगर्ने, तुलसीपुरको अरनिको खेल मैदान संरक्षण गर्ने, विद्युतीय सुरक्षामा ध्यान दिइने नीति अघि सारिएको छ ।   रासस