तनहुँका विद्यालय पुनर्निर्माणले गति लिदैँ : कमसल निर्माण सामग्री प्रयोग हुँदा पनि अनुगमन भएन

तनहुँमा बनिरहेका विद्यालयको गुणस्तरका हकमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिले गुणस्तर सुनिश्चितता गरेको जनाइएको छ । तर, स्थानीय क्षेत्रमा उपलब्ध स्रोत–साधनको प्रयोग नभई निश्चित मापदण्ड तोकेर निर्माण सामग्री ल्याउन निर्देशन दिइएको छ । काठ, बालुवा, सिमेन्टजस्ता वस्तु पनि स्थानीय उपलब्ध भए पनि व्यापारीमार्फत पोखरा र चितवनबाट ल्याइने गरिएको छ ।

काठमाडौं । भूकम्पपछि तनहुँका विद्यालय पुनर्निर्माणले पछिल्लो समय गति लिन थालेको छ । जिल्लामा क्षतिग्रस्त २९१ विद्यालयमध्ये हालसम्म ५० प्रतिशतभन्दा बढी विद्यालयको पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तनहुँले जनाएको छ । हालसम्म १६५ ओटा विद्यालयको पुनर्निर्माण भइसकेको जनाइएको छ । चालू आर्थिक वर्ष ५२ ओटा विद्यालयको निर्माण गर्नुपर्नेमा हालसम्म ६ ओटा विद्यालयको पुनर्निमाण भएको हो । बाँकी विद्यालय निर्माणाधीन छन् ।

विद्यालय पुनर्निर्माण भइरहँदा गुणस्तरीय निर्माण सामग्री र स्थानीय क्षेत्रमा उपलब्ध स्रोत–साधन जस्तै, बालुवा, गिट्टी, इट्टा, सिमेन्ट, काठजन्य वस्तुको प्रयोग महत्त्वपूर्ण हुन्छ । तनहुँमा बनिरहेका विद्यालयको गुणस्तरका हकमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिले गुणस्तर सुनिश्चितता गरेको जनाइएको छ । तर, स्थानीय क्षेत्रमा उपलब्ध स्रोत–साधनको प्रयोग नभई निश्चित मापदण्ड तोकेर निर्माण सामग्री ल्याउन निर्देशन दिइएको छ । काठ, बालुवा, सिमेन्टजस्ता वस्तु पनि स्थानीय उपलब्ध भए पनि व्यापारीमार्फत पोखरा र चितवनबाट ल्याइने गरिएको छ ।

विद्यालय निर्माणका लागि निश्चित क्रसरबाट गिट्टी र बालुवा लिनुपर्ने भनिएको छ । सिमेन्टमा ओपीसी सिमेन्टबाहेक अरु प्रयोग गर्न पाइँदैन ।

स्थानीय सामग्री नजिकै पाइए पनि गुणस्तरीय नहुने भएकाले बाहिरबाटै ल्याउनुपर्ने एक अधिकारीले बताए । उनले आँखा छलेर केही विद्यालयमा कमसल निर्माण सामग्री प्रयोग गरिएको क्यापिटल नेपाललाई जानकारी दिए । ‘एकाध विद्यालयमा कमसल सामग्री प्रयोग गर्ने प्रवृत्ति छ,’ उनले भने, ‘आशातित सुधार भएको छैन ।’ अधिकांश विद्यालयमा सब—इन्जिनियर खटेका छन् । उनीहरुले विद्यालय गुणस्तरीय निर्माणका लागि प्राविधिक सहयोग गरिरहेका छन् । तर, गुणस्तरका नाममा भने केही सम्बन्धित विद्यालयका प्रधानाध्यापक र तिनी निकटका निर्माण व्यवसायीको मिलेमतोमा कमसल निर्माण सामग्री ल्याइने गरेको एक स्थानीयले बताए । तर, यसबारे न त अनुगमन भएको छ, न अनुगमन गर्ने निकायलाई थाहा छ ।

विद्यालयमा प्रयोग हुने निर्माण सामग्री तोकिएकै र स्तरीय प्रयोग गरेको श्रमिक आधारभूत विद्यालय शुक्लागण्डकीका प्रधानाध्यापक केशव पौडेलले बताए । उनले आफ्नो विद्यालयमा ९० प्रतिशत गुणस्तरीय सामग्री प्रयोग भएको बताए पनि अन्य क्षेत्रका विद्यालयबारे केही बोल्न चाहेनन् ।

यसबारे अधिकांश विद्यालयमा तोकिएको मापदण्ड र गुणस्तरीय निर्माण सामग्री प्रयोग भएको भेटिएको राष्ट्रिय पुनर्निमाण प्राधिकरण तनहुँका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सूर्य क्षेत्रीले बताए । उनले सब—इन्जिनियरको प्राविधिक सल्लाह र मापदण्डअनुसार नै विद्यालय पुनर्निर्माण भइरहेको बताए ।

तनहुँमा २, ३ र ४ कोठे विद्यालय भवन निर्माण भइरहेका छन् ।