कार्गोमा भारतीय एकाधिकार तोडियो, नेपाली झण्डा राखेर भारतीय लिकमा रेल कुदाउन खुला

यसअघि भारतीय रेलमार्गबाट लाइसेन्सप्राप्त रेल मात्रै कुद्दै आएकामा अबदेखि नेपालीलाई पनि रेल कुदाउन खुला गरिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेशकुमार भट्टराईले जानकारी दिए ।

काठमाडौं । भारत सरकारले नेपाली झण्डा राखेर भारतको आफ्नै लिकमा रेल कुदाउन खुला गरेको छ ।

यसअघि भारतीय रेलमार्गबाट लाइसेन्सप्राप्त रेल मात्रै कुद्दै आएकामा अबदेखि नेपालीलाई पनि रेल कुदाउन खुला गरिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेशकुमार भट्टराईले जानकारी दिए ।

‘यदि नेपालीले रेल किने भने भारतीय लिकमै कुदाएर नेपाल सामान ढुवानी गर्न बाटो खुला भएको छ,’ मन्त्रालयका सहसचिव भट्टराईले भने, ‘त्यति मात्रै होइन, ढुवानीमा हुँदै आएको एकाधिकार पनि तोडिएको छ । अबदेखि निजी क्षेत्रबाट सञ्चालित कार्गोले पनि सुख्खा बन्दरगाहमा ढुवानी गर्न सक्छन् ।’

‘कार्गो ढुवानीमा भारतीय एकाधिकार भएकै कारण नेपालमा सामान ढुवानी गर्न महँगो पर्दै आएको थियो । त्यति मात्रै होइन, अब नेपालको निजी क्षेत्रलाई ढुवानी गर्नसमेत खुला भएको छ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पहिला कन्करले मात्रै ढुवानी गरिन्थ्यो, अब नेपाली आफैले रेल किनेर सामान ढुवानीको बाटो खुला भएको बताए ।

भारतीय एकाधिकार भएकाले भनेका बेला कार्गो नपाउने, पाए पनि अत्यन्तै महँगो भाडा तिर्नुपर्ने समस्यालाई सरकारको यो निर्णयले समाधान गरेको उनको भनाइ छ ।

उनका अनुसार भारतमा निजी क्षेत्रबाट सञ्चालित रेलबाट सामान ल्याउँदा अहिलेको भन्दा २५ प्रतिशतसम्म सस्तो पर्छ ।

ढुवानी गर्ने र रेल चलाउने भारत सरकारको कम्पनी कन्करका अतिरिक्त प्राइभेट ढुवानी रेल पनि चल्न दिनुपर्ने नेपाली पक्षले माग गर्दै आएको गोल्छाले बताए ।

‘भारत सरकार विशाखापट्टनमबाट मात्र होइन, अन्य बन्दरगाहबाट पनि रेल चल्न दिन मन्जुर भयो,’ उनले भने, ‘यो एकदमै राम्रो कुरा हो ।’

प्राइभेट कम्पनीको कार्गोबाट सामान ढुवानी गर्दा कार्यदक्षता पनि बढ्छ । २५ प्रतिशत सस्तो हुन्छ । प्राइभेट कम्पनीले पनि रेल किनेर चलाउन सक्ने छन् ।