नेपाल र भारतबीच रेल सेवा सम्झौताको तेस्रो बैठक सम्पन्न

दुई पक्षीय बैठकमा भारतले नेपाली रेल कोलकाता÷हल्दियादेखि विराटनगर र वीरगन्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन सैद्धान्तिक सहमति जनाएको छ ।

काठमाडौं । नेपाल र भारतबीच रेल सेवा सम्झौताको तेस्रो बैठक भारतमा सम्पन्न भएको छ । जेठ २३ र २४ गते भएको बैठकमा वीरगन्ज सुख्खा बन्दरगाहमा विद्युतीय रेलमार्ग विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ । नेपाल र भारतबीच रेल सेवा सम्झौता अन्तर्गतको तेस्रो विस्तृत पुनरवलोकन वार्तामा विद्युतीय रेलवे विस्तार गर्न सहमत भएको हो ।

दुई पक्षीय बैठकमा भारतले नेपाली रेल कोलकाता÷हल्दियादेखि विराटनगर र वीरगन्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन सैद्धान्तिक सहमति जनाएको छ ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पारवहन सन्धिमा सहमति भएअनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलमार्फत ब्लक कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवाा आवश्यक संशोधन गर्ने र विराटनगर जोगबनी, सुनौली, नौतनवा र कुर्था÷इनर्वा जयनगर रुटमा रेल सेवा सञ्चालनमा आएपश्चात् उक्त रुटहरुमा कार्गो ढुवानी गर्न पाउने गरी नेपाल भारत रेल सेवा सम्झौतामा थप गरिने सहमति भएको बताए ।

नेपाल भारत रेल सेवा सम्झौतामा संशोधनका लागि नेपालका तर्फबाट १८ अप्रिल २०१८ मा प्रस्ताव गरिएको लेटर अफ एक्सचेञ्जसहित तेस्रो विस्तृत पुनरवलोकन बैठकमा छलफल भएका विषयसमेत समेटी पारवहन÷ढुवानी सहज बनाउन नेपालको तर्फबाट लेटर अफ एक्सचेञ्जको मस्यौदा पठाउने र उक्त मस्यौदा चाँडो टुङ्ग्याई रेल सेवा सम्झौतामा संशोधन गर्न भारतीय पक्षबाट प्रतिबद्धता प्राप्त भएको सचिव अधिकारीको भनाइ छ ।

तेस्रो मुलुकबाट पारवहन ढुवानीका लागि भारतका धाम्रा र मुन्द्रा पोर्ट नेपाल भारत पारवहन सन्धिमा थप भएसँगै रेल सेवा सम्झौतामा समेत ती पोर्टहरु थप गर्ने सहमति भएको छ ।

यस्तै नेपाली बैड्ढिङ च्यानलमार्फत रेल भाडा ढुवानी गर्ने, डिटेन्सन÷डयूमरेज दस्तुर न्यून गर्ने, आधिकारिक कार्गो रेल सञ्चालकको दायित्व किटान गर्ने विषयमा छलफल भई उक्त विषयहरु समाधान हुने विषयमा भारतीय पक्षले आश्वस्त पारेको जनाइएको छ ।

रेल सेवा सम्झौताको चौथो बैठक ६ महिनाभित्र नेपालमा गर्ने र बैठकको मिति दुई पक्षको अनुकूलतामा कूटनीतिक माध्यमबाट तय गरिने सहमति भएको उल्लेख छ । वार्ताको नेतृत्व नेपालका तर्फबाट आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतका तर्फबाट रेल मन्त्रालयका कार्यकारी निर्देशक एवं ट्राफिक ट्रान्सपोर्टेशन मनोजकुमार श्रीवास्तवले गरेका थिए ।