वाणिज्य बैङ्कहरुले ११४० करोड बजारबाट उठाउँदै

काठमाडौं । कर्जा लगानीका लागि थप स्रोत जुटाउन आधा दर्जन वाणिज्य बैङ्कहरुले ऋणपत्र निष्कासन गर्न लागेका छन् । लक्ष्मी बैङ्क, सिद्धार्थ बैङ्क, एनआईसी एसिया बैङ्क, प्रभु बैङ्क, माछापुच्छ्रे बैङ्क र हिमालयन बैङ्कले गरी ११ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड १४ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेका हुन् ।

ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ छ । बैङ्कहरुले न्युनतम १० देखि १०.२५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन् । यो मुद्धति निक्षेपकोभन्दा बढी हो । मुद्धति निक्षेपको ब्याजदर अधिकतम ९.५० प्रतिशतसम्म छ । बैङ्कहरुले ७ देखि १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न लागेका हुन् ।

लक्ष्मीले वार्षिक १० प्रतिशत ब्याज दिने गरी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता लक्ष्मी डिवेञ्चर निष्कासन गर्न लागेको छ । ऋणपत्रको अवधि २०८६ सम्म रहेको लक्ष्मीले जानकारी दिएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नविल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड रहेको छ ।

यस्तै सिद्धार्थले वार्षिक १०.२५ ब्याज दिने गरी २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता एसबीएल डिवेञ्चर ल्याउन लागेको छ । एसबीएल डिवेञ्चरको अवधि १० वर्षको छ । निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

एनआईसी एसियाले ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ४४ लाख कित्ता ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डसँग स्वीकृति मागेको छ । एनआईसीले वार्षिक १०.२५ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । १० वर्षका लागि उसले ऋणपत्र निष्कासन गर्न लागेको हो ।

चालु आर्थिक वर्षमा एनआईसीले १० देखि ११ प्रतिशत ब्याजमा दुई पटक गरी ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासनबाट स्रोत जुटाइसकेको छ । यो समेत गरी उसको झन्डै १० अर्ब रुपैयाँ पुग्ने छ । निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रभुले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ । प्रभुले वार्षिक १० प्रतिशत ब्याज दिने गरी १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र २०८६ मा परिपक्व हुनेछ । प्रभुको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

हिमालयनले पनि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । वार्षिक १० प्रतिशत ब्याज दिने गरी ७ वर्षका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । हिमालयनको ऋणपत्र २०८३ मा परिपक्क हुने छ । निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड छ ।

माछापुच्छ्रेले पनि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र ल्याउने भएको छ । वार्षिक १०.२५ प्रतिशत ब्याज दिने गरी बैङ्कले १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल निष्कासनको ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थागत लगानीकर्तालाई ऋणपत्रमा लगानी सुरक्षित गरिएको छ

चालु आर्थिक वर्ष सुरु भएयता ८ ओटा बैङ्कले ऋणपत्र बिक्री गरेर बजारबाट झन्डै १९ अर्ब रुपैयाँ उठाएको धितोपत्र बोर्डले जनाएको छ । निक्षेपबाट लगानी गर्न स्रोतको कमी भएपछि बैङ्कहरुले ऋणपत्र निष्कासन गर्न थालेका हुन । ऋणपत्रबाट संकलन गरेको पुँजी कर्जा सापटी, तरलता व्यवस्थापन र कार्यलय विस्तारमा लगानी गर्दै आएका छन् ।

लगातार ३ वर्षदेखि बैङ्किङ्ग प्रणालीमा लगानीयोग्य पुँजी (क्रेडिट क्रञ्च) को संकट बढेपछि विभिन्न वित्तीय औजारबाट स्रोत जुटाउने गरेका छन् । ऋणपत्रबाट संकलन हुने पुँजी सीसीडीमा गणना हुने गरेको छ । ऋणपत्र निष्कासन वित्तीय औजारले बैङ्कहरुको ऋण दिने क्षमता बढे पनि मागअनुसार पूरा गर्न सकेका छैनन् । अझै ५ खर्ब बढीको ऋणको माग रहेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बैङ्कहरुले ऋणपत्रमा पनि जोड दिनुपर्ने बताएका छन् । ऋणपत्र पनि लगानी जुटाउन वित्तीय औजार भएपनि अझै यसको बजार सिर्जना नभएको उनले बताए । लगानी जुटाउन कमसेकम ३ वर्षको डिपोजिट सर्टिफिकेट जारी गर्न उनले बैङ्कहरुलाई सुझाव दिएका छन् ।

नेपाल धितोपत्रको २७ औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले वन्ड मार्केट, तरलता र सेयर बजारको पनि सन्तुलन हुने बताएका थिए । यदी ९ वा १० प्रतिशतकाबीचमा वन्ड जारी भएको छ भने कर्जाको ब्याजदर पनि योभन्दा माथि नहुन सक्ने उनको भनाई थियो ।