द्वन्द्वमा बन्द भएका करोडौँ मूल्यका ठूला चामल उद्योग खण्डहरमा परिणत

देशभर नाम चलेका यस क्षेत्रका सबै चामल उद्योग यतिबेला भने खण्डहरमा परिणत भएका छन् । सशस्त्र द्वन्द्व, कृषकले धान कम लगाउनु र धान खरीद गर्ने गल्ला विभिन्न ठाउँमा सञ्चालन हुनुलगायतले सबै चामल उद्योग बन्द हुन पुगेको व्यवसायी बताउँछन् ।

लम्की । दुई दशकअघि भारतलगायतका देशमा चामल निर्यात गर्ने कैलालीका ठूला चामल उद्योग खण्डहर बनेका छन् । अन्नभण्डारका रूपमा चिनिने टीकापुर क्षेत्रमा उत्पादन भएको धानबाट चामल बनाउने दर्जन बढी ठूला चामल उद्योग सशस्त्र द्वन्द्वमा बन्द भएपछि अहिले खण्डहरमा परिणत भएका हुन् ।

टीकापुर र नारायणपुरका चामल उद्योगबाट उत्पादित चामल भारतको तिकुनियाँमा भण्डारण गरिन्थ्यो । तिकुनियाँबाट भैरहवा नाका हुँदै चामल नेपाल भित्रिन्थ्यो र खपत हुन नसकेको चामल व्यवसायीले भारतमा बिक्री गर्थे । चामल उत्पादनका लागि ख्याति कमाएको टीकापुर क्षेत्रमा तत्कालीन अवस्थामा जिल्लाका प्रायः किसानले धान बिक्रीका लागि रोज्थे । जिल्लाभरको धान खरीद गर्न पाएपछि चामल उद्योग निकै राम्रो अवस्थामा चलेका थिए ।

देशभर नाम चलेका यस क्षेत्रका सबै चामल उद्योग यतिबेला भने खण्डहरमा परिणत भएका छन् । सशस्त्र द्वन्द्व, कृषकले धान कम लगाउनु र धान खरीद गर्ने गल्ला विभिन्न ठाउँमा सञ्चालन हुनुलगायतले सबै चामल उद्योग बन्द हुन पुगेको व्यवसायी बताउँछन् । दर्जनभन्दा बढी ठूला चामल उद्योग भए पनि हाल एउटा मात्रै उद्योग सञ्चालनमा छ । टीकापुर नगरपालिका–६ स्थित मौरनियाँ चामल उद्योग मात्रै सञ्चालनमा छ ।

झण्डै ३५ वर्षअघि स्थापना गरिएको मौरनियाँ चामल उद्योगका सञ्चालक नारायण गोयलले द्वन्द्व सुरु भएसँगै व्यवसायी विस्थापित भएको बताए । उद्योगी गोयलका अनुसार व्यवसायीको अनुपस्थितिमा ठूलो लगानी भएका सबैजसो उद्योग खण्डहर बन्न पुगेका हुन् ।

टीकापुर नगरपालिका–६ नारायणपुरका मख्खन बाबु भनिने वीरबहादुर राईको दुर्गा राइस मिल, गोविन्द श्रेष्ठको ओखरपुर राइस मिल, शान्तिकुमार अग्रवालको शक्ति राइस मिल र टीकापुर अस्नेरीस्थित कर्णाली राइस मिल देशभरमै चिनिने ठूला चामल उद्योग हुन् । प्रतिघण्टा २० क्विन्टलसम्म चामल उत्पादनको क्षमता राख्ने यस्ता उद्योग खण्डहर बनेका हुन् ।

दुर्गा राइस मिल विसं २०४६ मै बन्द भइसकेको थियो । अन्य मिल सशस्त्र द्वन्द्वका समयमा बन्द भए । विसं २०५३ को आसपासमा शक्ति र ओखरपुर राइस मिल बन्द भए । त्यसै अवधिमा कर्णाली राइस मिल पनि बन्द हुन पुग्यो । उद्योग बन्द भएसँगै सबै व्यवसायी विस्थापित भए । उद्योगस्थलमा तत्कालीन माओवादीले कब्जा गरे । त्यहाँ रहेका मेसिन र औजार बिक्री गरियो ।

चामल उद्योग सञ्चालन हुँदा यहाँको व्यापार व्यवसाय निकै फस्टाएको थियो । टीकापुर नगरपालिका–७ को सत्तीबजार खाद्यान्नको मण्डीका रूपमा चिनिन्थ्यो ।

धान खरीद गर्न खाद्य संस्थानले सरकारी काँटा लगाउँथ्यो । धान बेच्ने र चामल किन्नेको चहलपहल हुन्थ्यो । अन्य सामान किनमेलका लागि समेत धेरैले सत्तीबजार रोज्थे । चामल उद्योगलाई लक्षित गरेर सत्तीमा राष्ट्रिय वाणिज्य बैंक सञ्चालनमा आएको थियो । सयौँले रोजगारी पाउनुका साथै कृषकको धान सहज र राम्रो मूल्यमा बिक्री हुने गरेको स्थानीय लालबहादुर चौधरीले बताए ।

कतिपय स्थानीयवासी भने चामल उद्योग बन्द हुनुको कारण सशस्त्र द्वन्द्व मात्रै नभएको बताउँछन् । उनीहरु कर्णाली चिसापानीमा पुल बनेपछि नारायणपुर–सत्ती यातायात सुविधाबाट टाढा हुन पुगेको बताउँछन् । पुल बनेसँगै व्यापारिक केन्द्र पूर्वपश्चिम राजमार्गमा केन्द्रित भएपछि धान खरीद बिक्रीमा कमी आएसँगै चामल उद्योग बन्द हुन पुगेको नारायणपुरका पहल बस्नेतको भनाइ छ ।

टीकापुरको पहाडी जिल्लासँग सोझै यातायात सम्बन्ध नहुनु पनि यी चामल उद्योगका लागि दुर्भाग्य भएको स्थानीयवासी बताउँछन् । सबैभन्दा बढी खाद्यान्नको माग पहाडी जिल्लामा हुन्छ । ती जिल्लामा अन्यत्रबाट खाद्यान्न ढुवानी हुन थाल्यो । यहाँ उत्पादन भएको चामल पहाडी जिल्लासम्म ढुवानी गर्न महङ्गो हुन थालेपछि माग हुन छोडेको मौरानियाँ राइस मिलका सञ्चालक गोयलको भनाई छ ।

करोडौँ मूल्यका चामल उद्योग खण्डहर बनेपछि व्यवसायीसमेत आर्थिकरूपमा चुर्लुम्म डुबेका छन् । उनीहरुलाई वित्तीय संस्थाले लगानी गर्न छाडेका छन् । व्यवसायीले आफ्नै प्रयासले चामल उद्योग पुनःसञ्चालन गर्नसक्ने अवस्था पनि छैन । रासस