जुत्ता निर्यातमा चामत्कारिक सुधार आउँछ : उद्योगी आमिरप्रताप राणाको विचार

ढिलै भएपनि सरकारले उद्योगीको माग सुनेको छ । निर्यात व्यापारलाई प्रोत्साहन गरेको छ । नेपालमा नयाँ उद्योग स्थापना गर्ने वातावरण बनेको छ । यो खुशीको कुरा हो । सरकारले जुत्तामा ३ प्रतिशत नगद अनुदान दिएको छ । यसलाई सबै उद्योगीले सकरात्मक सुरुआतको रुपमा लिएका छन् ।

नेपालको सबैभन्दा बढी व्यापार घाटा भारतसँगै छ । र नेपालको सबैभन्दा बढी निर्यात पनि भारतसँगै छ । कुल निर्यात व्यापारमध्ये भारतसँग मात्रै ६४ दशमलव १ प्रतिशत व्यापार हुँदै आएको छ ।

नेपालको निर्यात व्यापार भारतसँग कति निर्भर छ भनेर तथ्याङ्कबाटै प्रस्ट हुन्छ । आयात व्यापार पनि भारतसँगै छ । निर्यात र आयात व्यापारमा ठूलो खाडल भएपनि निर्यात व्यापार हुने देशमध्ये भारत पहिलो नम्बरमा पर्छ ।

दोस्रो कुरा नेपालमा केही समयदेखि भारतीय रुपैयाँको ठूलो अभाव पनि हुँदै आएको छ । डलर बेचेर भारतीय रुपैयाँ किन्नुपर्नेसम्मको अवस्थासमेत आएको छ । किनभने, नेपालमा अधिकांश सामान भारतबाट आउँछ, भारतलाई भारतीय रुपैयाँ (भारु) मै भुक्तानी गर्नुपर्छ । जब नेपालसँग भारु कम हुन्छ, तब डलर बेचेर भारु किन्नुपर्ने अवस्था धेरै पटक आइसकेको छ ।

एकातिर नेपालको निर्यात व्यापार भारतसँगै हुनु र अर्कोतिर आयात गर्दा भारतलाई भुक्तानी गर्न भारुको अभाव हुने गरेको थियो । र व्यवसायीले पनि पटक–पटक भारत निकासी गर्दा नगद अनुदान दिनुपर्ने माग गर्दै आएका थिए ।

खासगरी, जुत्ता निर्यात गर्दा त आजसम्म अनुदान नै थिएन । पहिलो पटक सरकारले जुत्ता निर्यात गर्दा नगद अनुदान दिएको छ । यो एकदमै खुशीको कुरा हो । यसअघि तेस्रो मुलुकमा जुत्ता निर्यात गर्दा पनि सरकारले नगद अनुदान दिने सूचीमा राखेकै थिएन । तर, अहिले भारतसहित तेस्रो मुलुकमा सामान निर्यात गर्दा पनि नगद अनुदान दिने निर्णय गरेको छ । त्यसमा सबै जुत्ता उद्योगीको तर्फबाट सरकारको सकरात्मक कार्यको स्वागत गर्छौँ ।

गोल्डस्टार सुजले मात्रै वार्षिक करोडौँ जोर जुत्ता भारतसहित तेस्रो मुलुक निर्यात गरिरहेको छ । गोल्डस्टारबाहेक अन्य कम्पनीले पनि अब निर्यात गर्न सक्छन् । भूकम्प र नाकाबन्दीपछि भारतमा जुत्ता निर्यात केही मात्रामा खच्किएको छ । त्यसभन्दाअघि नेपालबाट धेरै जुत्ता भारत निकासी हुन्थ्यो । अब फेरि निकासी उकालो लाग्छ र भारतीय रुपैयाँ नेपाल भित्रिन्छ ।

ढिलै भएपनि सरकारले उद्योगीको माग सुनेको छ । निर्यात व्यापारलाई प्रोत्साहन गरेको छ । नेपालमा नयाँ उद्योग स्थापना गर्ने वातावरण बनेको छ । यो खुशीको कुरा हो । सरकारले जुत्तामा ३ प्रतिशत नगद अनुदान दिएको छ । यसलाई सबै उद्योगीले सकरात्मक सुरुआतको रुपमा लिएका छन् ।

निकै लामो समयदेखि जुत्ता उद्योगीहरुले जुत्ता निर्यातमा नगद अनुदान दिन माग गरिरहेका थिए । नेपाली जुत्ता विश्व बजारमा दरिलो रुपमा उपस्थित हुँदा पनि सरकारले निर्यातमा अनुदान दिएको थिएन ।

सरकारले भारत निकासीलाई आजसम्म निकासीको रुपमा लिएकै थिएन । तेस्रो मुलुक निकासी गर्दा मात्रै निकासी मान्थ्यो । तर अब भारत निकासीलाई पनि निकासीकै रुपमा स्वीकार गरेको छ, त्यो राम्रो पक्ष हो ।

आमिरप्रताप राणा– प्रबन्ध निर्देशक, किरण सुज (गोल्ड स्टार)