हट्यो खानेपानीको अभाव

राजीखोलामा सामाजिक चेतना तथा विकास सङ्घ (साडा) नेपालद्वारा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन पहल कार्यक्रमले आठ लाख रूपैयाँमा बहुउद्देश्यीय पानी प्रणालीमार्फत खानेपानीको योजना सम्पन्न गरेपछि त्यस क्षेत्रका बासिन्दाको पानीको अभाव हटेको हो । 

बैतडी । खानेपानीकै लागि भनेर बैतडी शिवनाथ गाउँपालिका–५ राजीखोलाकी उषा साउँद तीन वर्ष अगाडिसम्म घण्टौँ लाइनमा बस्थिन् । त्यो पनि नजिकै रहेको राजुखोलाको दूषित पानीको लागि तर तीन वर्षयता उनको दैनिकी फेरिएको छ ।

आजभोलि उनलाई घण्टौँ लाइनमा बस्नु पर्दैन किनकि घरमै खानेपानी धारा जडान भएको छ । उषाको मात्रै नभएर राजीखोलाका स्थानीय बासिन्दाको वर्षौंदेखिको खानेपानीको समस्या हटेको छ । राजीखोलामा सामाजिक चेतना तथा विकास सङ्घ (साडा) नेपालद्वारा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन पहल कार्यक्रमले आठ लाख रूपैयाँमा बहुउद्देश्यीय पानी प्रणालीमार्फत खानेपानीको योजना सम्पन्न गरेपछि त्यस क्षेत्रका बासिन्दाको पानीको अभाव हटेको हो ।

पहल कार्यक्रमको चार लाख २७ हजार ७४८ र स्थानीयको तीन लाख ७३ हजार ३६१ रूपैयाँको लागतमा राजीखोला बहुउपयोगी पानी प्रणाली योजना सम्पन्न भएको कार्यक्रमका जिल्ला संयोजक लालबहादुर महराले जानकारी दिए । कार्यक्रमले योजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री उपलब्ध गराएको र बाँकी स्थानीयले श्रमदानबाट योजनाको काम सम्पन्न गरेको हो । खानेपानीको समस्या भएका बस्ती छनोट गरेर योजना लागू गरेको जिल्ला संयोजक महराले बताए ।

राजीखोलाका स्थानीयवासीले करीब ५० प्रतिशत आफ्नै श्रमदानमा योजनाको काम गरेकाले निकै खुशी लागेको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताइन् । उक्त प्रणालीबाट खानेपानीको व्यवस्था भएपछि वर्षौंदेखि खोलाको दूषित पानी पिउनुपर्ने बाध्यताको अन्त्य भएको शिवनाथ–५ राजीखोलाका परमल सिंह साउँदले बताए ।

बहुउपयोगी पानी प्रणाली भएकाले खानेपानीभन्दा बढी भएको पानीले त्यहाँका स्थानीय बासिन्दाले तराकारी खेतीसमेत गरिररहेका छन् । पहल कार्यक्रमले आधुनिक तरकारी खेती गर्न सिकाएको र बीउबिजन पनि सहयोग गरेको स्थानीय सेतु साउँदको भनाइ थियो ।

यस्तै शिवनाथ गाउँपालिका–६ डाँडाकोटकामा रहेको दलित बस्तीमा रहेको खानेपानीको समस्या हटेको छ । साडा नेपालद्वारा सञ्चालित पहल कार्यक्रमले डाँडाकोटमा बहुउपयोगी पानी प्रणाली योजना सम्पन्न भएपछि दलित बस्तीमा रहेको खानेपानीको समस्या हटेको हो ।

खानेपानीका लागि निकै समस्या रहेकोमा हाल आएर त्यो समस्या हट्दै गएको स्थानीय सुनिराम पार्कीले बताए । पहल कार्यक्रम र स्थानीय जनश्रमदान गरी कुल सात लाख ५६ हजार ६८२ लागतमा उक्त योजना सम्पन्न भएको पहल कार्यक्रमका जिल्ला संयोजक लालबहादुर महराले बताए । उक्त योजना सम्पन्न भएपछि डाँडाकोटका २३ घरधुरी लाभान्वित भएका छन् ।

यस्तै शिवनाथको मन्सैनीमा पनि बहुउपयोगी पानी प्रणाली योजना सम्पन्न भएपछि त्यस क्षेत्रका नागरिक पनि खानेपानीको समस्याबाट मुक्त भएका छन् । रासस