आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी कूल एक करोड ७७ लाख २६ हजार ३०३ को लागतमा निर्माण भएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ स्थित गणेश आधारभूत विद्यालय कुवापानीमा जापान सरकारको सहयोगमा निर्मित चारकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी कूल एक करोड ७७ लाख २६ हजार ३०३ को लागतमा निर्माण भएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । भवनमा छात्रछात्रा शौचालय, स्टोर, प्रधानाध्यापक कक्ष र भान्साकोठा रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रुम्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख बद्रीबहादुर पाठक, जाइका परामर्शकर्ताको तर्फबाट जिल्ला आवासीय इञ्जिनीयर रोजेशगोविन्द श्रेष्ठ, निर्मल मावि बस्तीपुरका प्रधानाध्यापक प्रवोध बिडारी, जिल्ला आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर सन्दीप अधिकारी, वडा नं १९ का वडासदस्य वागसिं स्याङ्तान, निर्माण कम्पनी स्वच्छन्द खानी बानियाँ जेभी निर्माण सेवाका सागर भण्डारी, प्राविधिक र अभिभावकको उपस्थिति थियो ।
निर्माण सेवाकातर्फबाट सागर भण्डारीले विद्यालयको साँचो जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुखलाई हस्तान्तरण गरे । साथै एकाइ प्रमुखले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई भवन हस्तान्तरण गरे ।
भवनले कुवापानी क्षेत्रका बालबालिकाको गुणस्तरीय पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विद्यालय पुनःनिर्माणअन्तर्गत मकवानपुर जिल्लामा जाइकाको ऋण सहयोगमा निर्माणाधीन ४१ विद्यालयमध्ये प्रथम चरणमा निर्माण थालिएका तीन विद्यालय यसअघि नै हस्तान्तरण भएका छन् । रासस