जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ घर निर्माण

जिल्लामा आर्थिक वर्ष २०६९/७० देखि सुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अतिविपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि घर निर्माण गरिएको हो ।

गोरखा । जनता आवासकार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ । जिल्लामा आर्थिक वर्ष २०६९/७० देखि सुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अतिविपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि घर निर्माण गरिएको हो ।

शहरी विकास मन्त्रालयअन्तर्गतको आवास निर्माण कार्यक्रममार्फत यहाँका कुसुण्डा, बादी, चेपाङ, बराम तथा दलित समुदायका लागि घर निर्माणको काम भइरहेको छ ।

कार्यक्रम सुरु भएको पहिलो आर्थिक वर्षमा कुसुण्डा परिवारका लागि एक घर मात्र निर्माण भएकामा आव २०७३÷७४ मा १८७ घर निर्माण भएको डिभिजन कार्यालय गोरखाका प्रमुख झपटबहादुर थापाले जानकारी दिए ।

उक्त आर्थिक वर्षमा २०० घर निर्माणको लक्ष्य राखिएको भए पनि १३ घर निर्माणको काम भने पछिल्लो आर्थिक वर्षका लागि सरेको थियो । यस्तै क्रमागत गरी अघिल्लो आवको बाँकीसमेत गरेर कार्यालयले आव २०७४/७५ मा २६३ घर निर्माण गरेको उहाँले बताए ।

‘गएको आर्थिक वर्षमा ३०० घर निर्माणको योजना रहेको थियो । तीमध्ये २६३ घर निर्माणको काम सम्पन्न भयो, बांँकी ३७ घर चालू आवमा सम्झौता भइसकेका छन्’, उनले भने । प्रमुख थापाका अनुसार चालू आवका लागि गएको आवको क्रमागतसमेत गरी २३७ घर निर्माणका लागि कार्यक्रम आएको छ ।

अघिल्लो वर्ष बाँकी रहेका सबै घर निर्माणका लागि सम्झौता भएको छ । यसपटक छनोट गरिने परिवारका लागि चालू आवमै घर निर्माण गर्ने कार्यक्रम आएको भए पनि ढिलो गरी कार्यक्रम आउँदा समस्या भएको उनले बताए । कार्यालय प्रमुख थापाले भने, ‘प्राथामिकताका आधारमा छनोट गरेर निर्माण गर्न बाँकी रहेका घर निर्माणका लागि प्रक्रियामा अघि बढेको छ ।’ उनले जनता आवास कार्यक्रमअन्तर्गत छनोटमा परेकालाई कार्यालयले चार किस्ता गरेर कूल तीन लाख ३२ हजार ५०० उपलब्ध गराउँदै आएको बताए ।

छनोटमा परेकाहरूलाई घरको जग खनेपछि पहिलो किस्तावापत कूल रकमको २५ प्रतिशत, डिपिसीको काम सम्पन्न गरेपछि दोस्रो किस्तावापतको ३५ प्रतिशत, गारोको काम सम्पन्न भएपछि तेस्रो किस्तावापत ३० प्रतिशत र छाना तथा शौचालय निर्माणको काम सम्पन्न गरेपछि अन्तिम किस्तावापतको १० प्रतिशत रकम उपलब्ध गराउँदै आएकोे प्रमुख थापाले जानकारी दिए ।