सञ्चय कोषले थाल्यो ब्याजदर पुनरवलोकन , सञ्चयकर्तालाई दिने र लिने ब्याजदर अन्तर १ प्रतिशत गर्ने तयारी

‘ब्याजदर अन्तर घटाएर १ प्रतिशतसम्म पुर्याउने तयारी थालेका छौं’, उनले भने ‘आगामी दिनमा कोषले थोरै मार्जिन राखेर चलाउने तयारी गर्ने छ ।’ मार्जिन घटेपछि नाफामा पनि कमी आउन सक्ने उनको भनाइ छ । कर्जा दिँदा १.२५ र कोषले दिने ब्याजदर अन्तर १.७५ प्रतिशत छ ।

काठमाडौं । कर्मचारी सञ्चय कोषले ब्याजदर पुनरवलोकन सुरु गरेको छ । कोषले आउँदो असारको तेस्रो सातासम्म आगामी आर्थिक वर्षका लागि सञ्चयकर्ताबाट लिने र सञ्चयकर्तालाई दिने दुवैको नयाँ ब्याजदर तय गर्ने भएको हो । कोषले गत साउनदेखि लागू हुने गरी नयाँ ब्याजदर तय गरेको छ ।

आगामी वर्षका लागि नयाँ ब्याजदर तय गर्न समितिले काम सुरु गरेको कोषका प्रशासक तुलसी गौतमले बताए । समितिले छलफल गरेर असारको तेस्रो सातासम्म नयाँ ब्याजदर तय गर्ने उनले जानकारी दिए । कोषले सञ्चयकर्तालाई दिने र उनीहरुलाई ऋण दिँदा लिने दुवैको ब्याजदर अन्तर घट्ने जानकारी दिए ।

‘ब्याजदर अन्तर घटाएर १ प्रतिशतसम्म पुर्याउने तयारी थालेका छौं,’ उनले भने ‘आगामी दिनमा कोषले थोरै मार्जिन राखेर चलाउने तयारी गर्ने छ ।’ मार्जिन घटेपछि नाफामा पनि कमि आउन सक्ने उनको भनाइ छ । कर्जा दिँदा १.२५ र कोषले दिने ब्याजदर अन्तर १.७५ प्रतिशत छ ।

ब्याजदर अन्तर कम गरेपछि सञ्चयकर्तालाई ऋण दिँदा लिने र दिने दुवैको ब्याजदर कम हुने उनले जानकारी दिए । कोषले ८.६ प्रतिशत ब्याजमा विभिन्न बैङ्कहरुमा मुद्दती निक्षेप राखेको छ ।

सञ्चय कोष रकममा सञ्चयकर्तालाई ८.२५ प्रतिशत ब्याज दिँदै आएको छ । विशेष सापटी भने साढे ९ प्रतिशत ब्याजदर छ । घर, शैक्षिक र घर मर्मत सापटीको ब्याजदर ९.७५ तथा सरल चक्र ब्याजदर १०.२५ प्रतिशत छ । काेषमा छ लाख सञ्चयकर्ता छन् ।

ठूला आयोजनामा लिने ब्याजदर घटाएर ११ प्रतिशतमा झारेको गौतमको भनाइ छ । माथिल्लो तामाकोसीलाई कर्जा दिँदा १२ प्रतिशतको समझदारी गरेकोमा बढी लिनु हुन्न भनेर १ प्रतिशत घटाएको उनले स्पष्ट पारे ।