नजिकियो होली, बढ्यो उमङ्ग

होलीले अहिले बजारमा चहलपहल पनि ह्वात्तै बढाएको छ । अहिले सहरबजारका चोक, गल्ली, बाटा सबैतिर होलीका लागि लक्ष्य गरी बनाइएका रङ र अनेक चित्र भएका टिसर्ट झुन्डिरहेको देखिन्छ ।

होली आउन केही दिन मात्र बाँकी छ । अहिले बजार होलीमय बनेको छ । स्कुलकलेजदेखि सपिङ मल आदि स्थानमा होलीको रौनक बिस्तारै बढ्दै गएको छ । त्यसैको तयारीस्वरुप अहिले उपत्यका गल्ली, बाटोघाटो तथा विभिन्न मल, सपिङ सेन्टर आदि स्थान झिलिमिली पारिएको छ । स्कुल–कलेज जाने विद्यार्थीहरुमा पनि उमङ्ग देखिन्छ । विद्यार्थी मात्र होइन, पर्यटकहरु समेत कसरी होली मनाउने भन्ने योजना बनाएर सोहीअनुसार तयारी गरिरहेका छन् ।

पर्यटकीय गन्तव्यका रुपमा चर्चित ठमेलको व्यापार पनि होलीको तयारीमा उत्साहजनक रुपमा वृद्धि भएको छ । होलीकै पूर्वतयारीस्वरुप वसन्तपुरमा शुक्रबार काठमाडौंको चीर (लिङ्गो) गाडिएको छ । रङ्गहरुको पर्व होली सुरु भएको सङ्केतस्वरुप उक्त लिङ्गो गाडिएको हो । मध्याह्न १२ बजेको शुभसाइतमा रङ्गीचङ्गी कपडाका टुक्रा झुन्ड्याएर चीर गाडिएको हो ।

हनुमानढोका दरबारको मूलद्वार अगाडि २० फिट अग्लो, तीनतले छत्र आकारमा रङ्गीचङ्गी कपडाका टुक्रा झुन्ड्याएर सिँगारिएको चीर लिङ्गो गाडेजस्तै गरी मानन्धर समुदायद्वारा फागुन शुक्ल अष्टमीका दिन गाड्ने चलन परम्परा छ । उक्त अवसरमा हनुमानढोकामा रहेको सेनाको पल्टनले सलामीसमेत दिएका थिए ।

होलीले अहिले बजारमा चहलपहल पनि ह्वात्तै बढाएको छ । अहिले सहरबजारका चोक, गल्ली, बाटा सबैतिर होलीका लागि लक्ष्य गरी बनाइएका रङ र अनेक चित्र भएका टिसर्ट झुन्डिरहेको देखिन्छ ।

विशेषगरी राजधानीका व्यापारिक केन्द्रहरु असन न्युरोड, ठमेल, भृकुटीमण्डप र वसन्तपुर, काठमाडौं मल, सिटी सेन्टरलगायत विभिन्न सपिङ सेन्टरमा होलीले व्यापारमा रौनकता बढाइदिएको छ । ह्याप्पी होली लेखिएका टिसर्टदेखि पिच्करी, लोला, रङ आदिको बजार चुलिएको छ । मनोरञ्जनका लागि मानिसहरुले बर्सेनि काठमाडौंका वसन्तपुर र टुँडिखेललगायत स्थानमा फागुपूर्णिमाका दिन होलीको उत्सव मनाउने गर्छन् ।
होलीको आगमनसँगै व्यापारीहरुमा पनि नयाँ किसिमको उत्साह थपिएको छ । उनीहरुले आआफ्ना पसलमा विभिन्न टिसर्ट र सप्तरङ्गी रङहरु बिक्रीमा राखेका छन् । विशेषगरी युवापुस्तालाई लक्ष्य गरी उपत्यकाभरका पसल तथा सपिङ सेन्टरमा मात्र नभई फुटपाथका व्यापारी पनि होलीका सामग्रीको बिक्रीवितरण गर्न व्यस्त देखिन्छन् ।

वर्षमा एक दिन मात्र प्रयोग हुने भएकाले ह्याप्पी होली लेखिएको टिसर्ट ठाउँअनुसार फरकफरक मूल्यमा बिक्रीके लागी बजारमा राखिएको छ । ‘हामीसँग अहिले एउटै मात्र ब्रान्ड छ । त्यो हो, होलीको टिसर्ट । यसलाई हामीले प्रतिपिस २ सय ५० रुपैयाँमा बिक्री गरिरहेका छौं,’ ५ वर्षदेखि भृकुटीमण्डपको ३२३ स्टल नम्बरमा कपडाको व्यापार गर्दै आएका राहुल यादवले भने ।

न्युरोडका पसलमा पनि अहिले होलीको रौनक बढ्दै गएको छ । होलीका लागि लक्ष्य गरी ल्याइएका टिसर्टलाई आफूहरुे ५ सय रुपैयाँमा बिक्री गरिरहेको न्यूरोस्थित फेसन हबका निकेश खत्रीले जानकारी दिए । विशेषगरी युवापुस्तालाई नै लक्ष्य गरेर नयाँ ब्रान्डका टिसर्ट ल्याइएको उनको भनाइ छ । अहिलेलाई केही निश्चित परिमाणमा टिसर्ट ल्याइएको र माग बढेको अवस्थामा त्यसलाई बढाउँदै लैजाने उनको भनाइ छ । दैनिक २० देखि ७० पिससम्म बिक्री हुने उनले बताए ।

गतवर्ष होलीका टिसर्ट मात्र चार सय पिस व्यापार गरेका खत्रीले यो वर्ष अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी व्यापार गर्ने लक्ष्य रोखको जानकारी दिए । फुटपाथमा राखिएका टिसर्ट भने केही सस्तोमै पाइने गरका छन् । उस्तै कपडा वा टिसर्टको मूल्य बाहिरी पसलको तुलनामा फुटपाथमा भने सस्तो रहेको पाइएको छ । फुटपाथ पसलेहरुले अहिले ३ सय रुपैयाँमा दुईओटा टिसर्ट दिने गरी व्यवस्था मिलाएका छन् ।