नेपालगञ्ज नाकामा सुक्खा बन्दरगाह निर्माण कार्य अलपत्र

नेपालका तर्फबाट सुक्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने काम भइसकेको छ । तर बन्दरगाह निमार्णको काम लामो समयदेखि अलपत्र पर्दै आएको छ ।

बाँके । भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अलपत्र परिरहेको छ । नेपालका तर्फबाट सुक्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने काम भइसकेको छ । तर बन्दरगाह निमार्णको काम लामो समयदेखि अलपत्र पर्दै आएको छ ।

बन्दरगाह निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको दुई हजार ७०० मिटर पहुँचमार्ग पनि नेपाल सरकारले निर्माण गरिसकेको छ । अन्य भौतिक संरचना निर्माणमा भारतीय सरकारले लगानी गर्नुपर्ने हो । तर भारतीय पक्षले चासो नदेखाउँदा निर्माणले गति लिन नसकेको नेपालगञ्जस्थित सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका इञ्जिनीयर होमनाथ भुसालले बताए ।

उनका अनुसार पछिल्लोपटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ । भारतले दशगजासँगै जोडेर आफ्नो क्षेत्रमा तारबार गरेको हो । इञ्जिनीयर भुसालका अनुसार पहुँचमार्ग निर्माणको काम पूरा भएको छ  । पछिल्लोपटक भारतीय अधिकारीले काम पूरा गर्न बोलपत्रको प्रक्रियामा रहेको जानकारी पाएको उनले बताए ।

भारतीय लगानीमा निर्माण भइरहेका कारण लागत र पूर्ण डिजाइनबारे नेपालका अधिकारी अनभिज्ञ छन् । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बन्दरगाह निर्माणमा भारतीय पक्षबाट सोचेअनुसार काम नभएको बताए ।

उनले भारतमा निर्वाचन सकिसकेकाले छिट्टै काम शुरु हुने विश्वास व्यक्त गर्दै भने, ‘निर्वाचनका कारण काममा ढिलाइ भएको हुनसक्छ, अब छिटो काम हुने आशा गरेका छौँ । मन्त्रालयबाट नै छिटो काम अगाडि बढाउन पहल आवश्यक देखिएको छ ।’ केन्द्रीय सदस्य श्रेष्ठले यस विषयमा बारम्बार छलफल भइरहेको बताए ।

उनले नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माणमा भइरहेको ढिलाइ मन्त्रालय तहबाटै पहल गर्नुपर्नेमा जोड दिए । बन्दरगाह निर्माणसँगै त्यहाँ एकीकृत सुरक्षा पोस्ट (आइसीपी) स्थापना गरिनेछ ।

निर्माणपछि आधुनिक भन्सारको काम सुरु हुनेछ । बन्दरगाहसम्म रेलवे सेवा विस्तार हुनेछ । एकीकृत सुरक्षा पोस्टमा नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्त जाँच गर्नेछन् । यसले सुरक्षा व्यवस्था चुस्त बनाउनुका साथै सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ ।

नेपाली तथा भारतीय व्यवसायीले पनि विनाझन्झट नेपाल तथा भारतबाट विभिन्न सामान निर्वाधरूपमा आयात निर्यात गर्न सक्ने जनाइएको छ ।

नयाँदिल्लीबाट सबैभन्दा नजिक मानिने नेपालको नेपालगञ्जमा बन्दरगाह आवश्यक रहेको भन्दै जयसपुरलाई रोजिएको हो । बन्दरगाह सञ्चालन भए आयात सहज हुने र यहाँका जडीबुटी र उत्पादन निकासी गर्न सरल हुने जनाइएको छ । तर बन्दरगाह निर्माणको काम अगाडि बढ्न नसक्दा स्थानीय उद्योगी व्यवसायी चिन्तित भएका छन् ।

बन्दरगाह निर्माणका लागि सरकारले आर्थिक वर्ष २०६५÷६६ मा ८९ बिघा जमीन अधिग्रहण गरे पनि निर्माणकार्यले गति लिन नसकेपछि अधिग्रहण गरिएको जग्गासमेत गौचरनजस्तै बनेको छ । हालसम्म निर्माणको काम शुरु हुने कुनै सङ्केत नदेखिएकाले अन्तिम समयमा भारतले काम अलपत्र पार्ने हो कि भन्ने चिन्ता सर्वत्र बढ्न थालेको व्यवसायीले जनाएका छन् ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मोहम्मद याकुव अन्सारीले सुक्खा बन्दरगाह निर्माणमा देखिएको अन्योलता र ढिलाइले जडीबुटी व्यवसायी निकै दुखी भएको जनाउँदै सरकारले छिटोभन्दा छिटो निर्माण गर्न भारतसँग पहल गर्नुपर्ने बताए ।

सुक्खा बन्दरगाह परिसरमा भन्सार कार्यालय, सुरक्षा पोष्ट, क्वारेन्टाइन कार्यालय, बैङ्क काउण्टर, खाद्य प्रविधिलगायत सरोकार राख्ने सरकारी कार्यालय रहनेछन् । यसले सामान आयात र निर्यात गर्न व्यापारीलाई सहज हुने नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले बताए । रासस