सञ्चय कोषले ठमेलमा १२ तले नयाँ भवन बनाउँदै, पुरानो भवन भत्काउने

२०७२ वैशाखको भूकम्पबाट कमजोर बनेको भवनलाई भत्काएर १२ तले नयाँ व्यवसायिक भवन बनाउने तयारी थालेको हो । नयाँ भवन बनाएर व्यवसायिक संस्थालाई भाडामा दिने योजना कोषको छ ।

काठमाडौं । कर्मचारी सञ्चय कोषले राजधानीको त्रिदेवीमार्ग, ठमेलमा रहेको पुरानो भवन भत्काएर नयाँ बनाउने भएको छ । २०७२ वैशाखको भूकम्पबाट कमजोर बनेको भवनलाई भत्काएर १२ तले नयाँ व्यवसायिक भवन बनाउने तयारी थालेको हो । नयाँ भवन बनाएर व्यवसायिक संस्थालाई भाडामा दिने योजना कोषको छ ।

५ देखि ६ महिनाभित्र भवनलाई मर्मत गर्ने वा नयाँ बनाउने भन्ने विषयमा स्पष्ट हुने कोषका प्रशासक तुलसी गौतमले बताए । उनले मर्मत गर्ने वा नयाँ बनाउँद कुन मोडल उत्तम विकल्प हुन्छ यस विषयमा स्वतन्त्र प्राविधिकबाट अध्ययन गराएर निर्णय लिइने सुनाए । मर्मतसम्भार गरेर चलाउने भन्ने कुरा पनि उठेको उनले बताए ।

६ महिनाभित्र यसको विस्तृत अध्ययन गरेर निर्णयमा पुग्ने उनको भनाइ छ । नयाँ बनाउँदा र त्यसैलाई मर्मत गर्दा के फरक हुन्छ भन्ने कुराको अध्ययन हुने छ ।

ठमेलमा रहेको भवनबाट अहिले महिनाको ३ करोड रुपैयाँ भाडा उठ्ने गरेको छ । ठमेल व्यापारिक केन्द्र भएकाले त्यहाँ रहेको कोषको कार्यलय लगानखेलमा सार्ने उनले जानकारी दिए । ‘लगनखेलमा भएको भवनबाट मासिक ५० लाख रुपैयाँ भाडा उठ्न गाह्रो छ तर, ठमेलबाट मासिक ३ करोड रुपैयाँ बढी उठ्ने भएकाले कार्यलय लगनखेल सार्न लालिएको हो ’ उनले भने । ठमेलमा रहेको भवनलाई व्यवसायिक बनाएर भाडामा लगाउने सोच रहेको उनले सुनाए ।

नयाँ ठूलो भवन बनाउँदा लाग्ने लागतको विश्लेषण गरेर निर्धारण गर्ने तयारी कोषको छ । कोषले विभिन्न स्थानमा भवन निर्माण गरेर भाडामा दिँदै आएको छ । भाडा पनि कोषको ठूलो आम्दानीको स्रोत बन्दै आएको छ ।