गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गरिने

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई प्रदूषणरहित विमानस्थलका रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढाइएको प्रमुख अधिकारीले बताए । 

लुम्बिनी । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली विकास बैङ्क (एडीबी) को अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई प्रदूषणरहित विमानस्थलका रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढाइएको प्रमुख अधिकारीले बताए ।

एशियाली विकास बैङ्कका अधिकृत नरेश प्रधानका अनुसार सौर्य ऊर्जा जडानका लागि एडीबीले एक अर्ब रूपैयाँ अनुदान रकम दिने गरी छलफल चलाइएको हो । प्रधानले भने, “१० मेघावाट सौर्य ऊर्जा निकाल्न करिब एक अर्ब लगानी लाग्ने अनुमान छ । उक्त रकम अनुदानमा प्राप्त हुनेछ । सोहीअनुसार विद्युत्, एडीबी र नागरिक उड्डयन प्राधिकरणबीच छलफल भइसकेको छ ।”

छिमेकी मुलुक भारतको कोच्चिन अन्तर्राष्ट्रिय विमानस्थल पनि सौर्य ऊर्जाबाट सञ्चालित छ । चीनको नर्थवेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएर काम गरिरहेको विमानस्थल आगामी पुस मसान्तभित्र फुल फेजमा सञ्चालनमा आउने बताइएको छ ।

विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यमा एडीबीले ५८ दशमलव ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३० दशमलव ५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ११ प्रतिशत लागत बेहोेर्ने गरी निर्माण कार्य शुरु भएता पनि अहिले एडीबीले ६२ दशमलव ६ प्रतिशत र क्यानको ३७ दशमलव ४ प्रतिशत लागत बेहोरिरहेका छन् ।

नेपाल सरकारले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि तीन अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ ।  रासस