लघुवित्त संस्थालाई गभर्नर नेपालको एकमहिने अल्टिमेटम, स्वैच्छिक नभए फोर्स मर्जर

अर्थको अर्थ र लघुवित्त बैङ्कर्स एसोसिएसनको संयुक्त आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा गभर्नर नेपालले लघुवित्त संस्थाको सङ्ख्या धेरै भएको र त्यसले विकृति ल्याएको भन्दै तत्काल मर्जरमा जान एकमहिने अल्टिमेटमसमेत दिएका हुन् ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले लघुवित्त संस्था स्वैच्छिक मर्जमा नगए राष्ट्र बैङ्कले फोर्स मर्जर गराउने बताएका छन् ।

अर्थको अर्थ र लघुवित्त बैङ्कर्स एसोसिएसनको संयुक्त आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा गभर्नर नेपालले लघुवित्त संस्थाको सङ्ख्या धेरै भएको र त्यसले विकृति ल्याएको भन्दै तत्काल मर्जरमा जान एकमहिने अल्टिमेटमसमेत दिएका हुन् ।

वित्तीय पहुँच पनि बढाउन नसक्ने र विकृति मात्रै भित्र्याउन लघुवित्त अग्रसर भएको भन्दै नेपालले तत्काल मर्जर नीतिलाई अघि बढाउन निर्देशनसमेत दिए । ‘तपाईंहरुले स्वैच्छिक मर्जर नीति अवलम्बन गर्नुभएन भने राष्ट्र बैङ्क प्रवेश गर्छ,’ कार्यक्रममा उनले भने, ‘राष्ट्र बैङ्क प्रवेश गर्यो भने ब्याक हुँदैन ।’

कार्यक्रममा गभर्नर नेपालले लघुवित्त संस्थामा संस्थागत सुशासन कमजोर रहेकाले कर्जाको गुणस्तर खस्किँदै गएको र एउटै व्यक्तिले धेरै संस्थाबाट ऋण लिने प्रवृत्ति मौलाएको बताए । ‘लघुवित्त संस्था वाणिज्य बैङ्कभन्दा फरक देखिएनन्,’ उनले भने, ‘अहिले देखिएको विकृति रोक्न मर्जर अत्यावश्यक भइसक्यो । आफैं मर्जमा जाने कि हामीले हस्तक्षेप गर्नुपर्ने हो । तपाईंहरु आफैं बुझ्नुस् ।’

लघुवित्तको सञ्चालन प्रक्रिया र कामकारबाही ठीक नभएको उनले बताए ।

लघुवित्त क्षेत्रमा बहुबैङ्किङ मौलाउँदै गएकाले आउँदा दिनमा ठूलो समस्या ल्याउने उनको भनाइ छ । ‘तपाईंहरु बाटोमा हिँड्ने मान्छेलाई च्याप्प छोपेर ऋण दिनुहुन्छ,’ गभर्नर नेपालले भने, ‘यसरी दिएको ऋण कहाँ र कसरी लगानी भएको छ, त्यसबाट कति घरपरिवारको आर्थिक उन्नति भयो, हेर्नुभएको छ ?’

अन्य बैङ्क तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त संस्थाको प्रकृति नै फरक रहे पनि उनीहरुले आफ्नो उद्देश्य भुलेको उनले बताए ।