गभर्नरले सोधे— आठ अर्बका बैङ्कको सेयर मूल्य २००, करोडको लघुवित्तको ४ हजार कसरी ?

अर्थको अर्थ र नेपाल लघुवित्त बैङ्कर्स एसोसिएसनले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै गभर्नर डा नेपालले भने- लघुवित्तको सेयर मूल्य अस्वाभाविक रुपमा बढेको छ, यसलाई रोक्नुपर्छ ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले लघुवित्त संस्थाको सेयर मूल्य अस्वाभाविक रुपमा बढेको बताएका छन् । अर्थको अर्थ र नेपाल लघुवित्त बैङ्कर्स एसोसिएसनले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै गभर्नर डा नेपालले भने- लघुवित्तको सेयर मूल्य अस्वाभाविक रुपमा बढेको छ, यसलाई रोक्नुपर्छ ।

८ अर्ब रुपैयाँ पुँजी भएको बैङ्कको सेयर मूल्य २०० र १ करोडमा खुलेका र केही हजार सेयरधनी भएका लघुवित्तको सेयर मूल्य ४ हजार के हैसियतले पुग्यो ? उनले प्रश्न गरे । ‘यो कुरा सुन्दा मलाई लाज लाग्छ, संसारको कुनै पनि देशमा यस्तो छैन नेपालमा मात्र छ, यस्तो पनि हुन्छ ?’ उनले भन, ‘मर्जरको कुरा आउन लागेपछि लघुवित्तको सेयर मूल्य बढाउन खेल सुरु भएको छ ।’ एसोसियसनका अध्यक्ष रामचन्द्र जोशीलाई सङ्केत गर्दै गभर्नरले भने, ‘यसरी सेयर मूल्य बढाउन हुन्न भन्ने फिलिङ त तपाईंलाई हुन्छ होला नि हैन र ? तपाईं एसोसिएसनको अध्यक्ष हो, सोच्नुस् त तपाईं ६० वर्ष भइसक्नुभएको छ । यसले गर्दा सर्वसाधारणलाई खत्तम पारेको छ ।’

‘गरिब निमुखालाई लगानी गर्ने संस्थाको सेयर मूल्य ५ हजार रुपैयाँ छ, हैट् यो त हुनुभएन । यसमा तपाईंहरुले गलत छ, यो हुदैन भन्नुपर्छ,’ उनले भने, ‘फलाने फलानो लघुवित्त मर्जर हुन लागेको छ भनेर ब्रोकरमा गयो यी संस्था मर्जर हुन लागेका छन् सेयर किन्नुपर्यो भन्यो । किन्न भन्ने मलाई पनि यति राख्नू भन्ने मैले देखिरहेको छु । यस विषयमा सोचिरहेको छु । विकृति बढ्ने भएकाले फिगोलाई केन्द्रीय बैङ्कको निगरानीमा राखिएको हो । यसलाई हामीले हेरिरहेका छौं ।’