सर्वाधिक पुँजी भएको इन्भेस्टमेन्ट बैङ्क ३३औं वर्षमा

नेपाल इन्भेष्टमेण्ट बैंकले स्थापनाकालको ३२ औं वर्ष पूरा गरेको छ । यस अवधिमा आफ्ना ग्राहकहरुको निरन्तरको विश्वास तथा आत्मिय सहयोग प्राप्त गरी व्यावसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चस्तरमा राख्न सफल भएको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले आ.व. २०७३–७४ मा रू. ५ अर्ब २४ करोडको सञ्चालन मुनाफा (सम्भावित नोक्सानी व्यवस्था अगाडिको) कमाएको थियो भने बैंकको खुद नाफा रू.३ अर्ब ११ करोड रहेकोे थियो । साथै सो आर्थिक वर्षको अन्त्यमा बैंकको चुक्ता पूँजी रु १० अर्ब ६२ करोड भन्दा बढी भइ निजी बैंकहरू मध्ये सर्वाधिक चुक्ता पूँजी भएको बैक बनेको छ भने २०७३–७४ को अन्त्यमा बैंकको शेयरधनी कोष रु १८ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले रु १ सय ३० अर्ब निक्षेप संकलन गरी १ सय १४ अर्ब कर्जा लगानी गरेको छ । यस अवधिसम्ममा बैंकले रु १ अर्ब ८३ करोड खुद नाफा गर्न सफल भएको छ । दोस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.०७ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई १.१२ प्रतिशतमा सिमित रहेको छ ।

साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकले निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी आइ.सि.आर.ए. नेपाल लिमिटेडबाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ ।