बार्षिक झण्डै पाँच अर्ब बराबरको नेपाली धागो खपत गर्दै आएको टर्कीले एकाएक आयातमा कडाई गरेको छ । नेपाली उद्योगले विदेशबाट धागो ल्याउने र नेपालको छाप लगाएर टर्की पठाउने गरेको बहाना पार्दै टर्कीले आयातमा कडाइ गरेको व्यवसायीहरुले बताएका छन् ।
टर्कीले आयातमा पाँच प्रतिशत ड्युटी पनि लगाइदिएको छ । टर्कीले गत जनवरी एक देखि यस्तो नियम लागू गरेको हो । टर्कीले अनावश्यक बहाना देखाएर नेपाली धागोको बदनाम गराउन खोेजेको धागो उत्पादक सङ्घका अध्यक्ष पवन गोयलले क्यापिटल नेपाललाई जानकारी दिए ।
टर्कीले नेपाल सरकारसँग एक पटक पनि छलफल नै नगरी एक पक्षीय रुपमा यस्तो निर्णय गरेको वाणिज्य मन्त्रायका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए । नेपाल सरकार र टर्की सरकारबीच समझ्दारी भएकाले धागोमा ‘ड्युटी फ्री’ दिएको थियो ।
टर्कीले निर्यातमा लगाएको अवरोधको बारेमा बुझ्न परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र भन्सार विभागको टोली डेलिगेसन जाँदै छन् ।
त्यसैगरी, टर्कीले जुन आरोप लगाएर धागो आयातमा अबरोध गरेको छ । त्यसको विषयमा सरकारी अधिकारीले अध्ययन गर्दा त्यसमा सत्यता नभएको पाइएको घिमिरेले बताए ।
टर्कीले विदेशबाट धागो ल्याउने र नेपाली छाप मात्रै लगाएर टर्की सामान पठाउने गरेको भन्दै आयातमा कडाइ गरेको थियो । तर, नेपाली कम्पनीले स्वदेशमै उत्पादन गरेर धागो टर्की पठाएको अध्ययनबाट पाइएको घिमिरेले जानकारी दिए ।
धागो सङ्घको पहलमै गठित अध्ययन समितिले उद्योगमा गएर स्थलगत निरीक्षण गरेर यस्तो निष्कर्ष निकालेको हो । गोयलका अनुसार हाल नेपालमा चार ओटा कम्पनीले धागो उत्पादन गर्दै आएका छन् । त्यसमध्ये तीन ओटाको उत्पादन मात्रै विदेश निर्यात हुँदै आएको सङ्घले जनाएको छ ।
रिलाइन्स स्पीनिङ मिल्स्, जगदम्बा स्पीनिङ् मिल्स्, त्रिवेणी स्पीनिङ मिल्स्, र जय स्पीनिङ मिल्स् धागो उत्पादन गर्दै आएको छ । त्यसमध्ये जय स्पीनिङ मिल्स् मात्रै टर्कीमा धागो निर्यात गर्दैैन । बाँकी कम्पनीले निर्यात गर्दैै आएका थिए ।
तर, अहिले हुँदै नभएको बहाना निकालेर टर्कीले धागो निर्यातमा कडाइ गर्दा सम्पूर्ण उत्पादन गोदामै थन्किन पुगेको अध्यक्ष गोयलले जानकारी दिए ।
नेपालमा ४० हजार मेट्रिकटन धागो उत्पादन हुन्छ, जसमध्ये ८० प्रतिशत विदेश निर्यात हुन्छ भने २० प्रतिशत मात्र नेपालमा नै खपत हुने गरेको छ । उनका अनुसार नेपालमा बार्षिक १५ अर्ब रुपैयाँबराबरको धागो उत्पादन हुने गरेको छ । पाँच अर्ब रुपैयाँबराबरको धागो टर्की नै जाने गरेको थियो ।
वाणिज्य मन्त्रालयले टर्कीको इकोनोमिक डिपार्टमेन्र्टसँग यस विषयमा छलफल गर्न समय मागेको छ । उक्त विभागले समय उपलब्ध गराउनासाथ नेपाली टोली त्यतातिर लाग्ने घिमिरेले जानकारी दिए ।