सम्पादकीय

राजनीतिक अस्थिरताको प्रभाव सबैभन्दा बढी लगानीकर्तामा पर्न गएको छ । सरकार फेरिएसँगै नीतिसमेत फेर्ने कुसंस्कारले लगानी आकर्षित हुन सकेन । यही कुसंस्कारका कारण कतिपय बहुराष्ट्रिय कम्पनी नेपालबाट बाहिरिए । प्रत्यक्ष रोजगारी दिएर व्यवसाय चलाइरहेका कम्पनीहरु ‘आउटसोर्सिङ’ गर्न थाले । उद्योगीहरु व्यापार (ट्रेडिङ) गर्न थाले । यो अवस्थाको अन्त्य आवश्यक छ । दलहरुले अब कोरा राजनीतिक गफ वा समाज परिवर्तनको नारा दिएर मात्र हुँदैन, बलिया पाखुरीलाई कसरी देशभित्रै रोजगारी दिने अनि मुलुकलाई कसरी समृद्ध बनाउने भन्ने योजना बनाउनु आवश्यक छ ।

बिजनेस नेपाल म्यानेजमेन्ट प्रालिले आफ्नो यात्रामा एउटा खुट्किला चढ्न पाएको खबर सुनाउन पाउँदा हामी गर्वानुभूति गर्छौं । क्यापिटलनेपाल डटकमको आरम्भ गर्न पाउँदा हामी हर्षित छौँ । यस घडीमा सर्वप्रथम हामीलाई यो आकर्षक डोमेन उपलब्ध गराउने विमल प्रधानप्रति आभार व्यक्त गर्न चाहन्छौँ ।

क्यापिटल बिजनेस म्यागजिनले प्रकाशनको छोटो अवधिमै पाएको शुभेच्छुकको स्नेह तथा सद्भावबाट हामी हौसिएका छौँ, साथमा थप जिम्मेवारीबोध पनि भएको छ । यही जिम्मेवारीबोध तथा हौसलाले हामीलाई बिजनेस अनलाइनमा फड्को मार्न प्रेरित गरेको हो । सूचना अब हातमा कागज समातेर वा विद्युतीय माध्यमबाट प्राप्त गरिने चिज मात्र रहेन, समयक्रमसँगै यसले डिजिटल स्वरुपमा आफूलाई बलियो पार्दै लगेको छ ।

विश्व सञ्चार बजार यतिखेर अनलाइनतर्फ तीव्र रुपमा आकर्षित हुँदै गएको छ, त्यसको प्रभावबाट नेपाली सञ्चारमाध्यम पनि अछुतो रहन सक्ने कुरा भएन । अहिले नेपालमा अनगिन्ती अनलाइन सञ्चालनमा छन् । हरेक अनलाइनले आफूलाई अब्बल सावित गर्ने प्रयास पनि गरिरहेका छन् । यो भीडमा हामी आफूलाई केही फरक प्रस्तुत गर्ने जमर्को गर्नेछौँ । ब्रेकिङ न्युजको होडले कतिपय अवस्थामा गलत सूचना प्रवाहित हुन सक्छ । यसले समाजलाई उद्वेलित बनाइदिन सक्छ, गलत दिशामा मोडिदिन पनि सक्छ । यसकारण सत्य, तथ्य र निष्पक्ष समाचार निर्माण गर्नका लागि घटनामाथि केही समय निगरानी गर्नु आवश्यक हुन्छ ।

समाचार क्रिटिकल हुनु जति जरुरी छ, सकारात्मक तथा सिर्जनशील सोचलाई प्रोत्साहन दिनु पनि त्यति नै जरुरी छ । मुलुकमा सबै कुरा नकारात्मक मात्रै भइरहेका छैनन् र सबै नेता तथा अन्य पेसाकर्मी खराब पनि छैनन् । केही असल र देशहितमा सोच्ने व्यक्ति पनि छन्, तिनको विचारलाई स्थान दिनु पनि हाम्रो जिम्मेवारी हुनेछ । मुलुक सङ्घीय संरचनामा गइसकेको र त्यसको आधारस्तम्भ तीनै तहको निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचनको नतिजा जुनसुकै दलको पक्षमा जाओस्, देशले स्थिरताको राजमार्गमा हिँड्ने अपेक्षा सर्वत्र गर्न थालिएको छ । राजनीतिक स्थिरताले स्वदेशी–विदेशी लगानी आकर्षित गर्नुका साथै व्यवसायमैत्री वातावरण तयार हुने विश्वास पलाएको छ । यस घडीमा शुभारम्भ भएको क्यापिटलनेपाल अनलाइनले लगानी प्रोत्साहन तथा व्यवसायमैत्री वातावरण बलियो बनाउन आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नेछ ।

देशभित्र रोजगारीको चरम अभाव छ । हरेक वर्ष बजारमा रोजगारी खोज्दै आउने करिब ५ लाखमध्ये ५० हजार जना (सरकारी र निजी गरेर)लाई पनि काम दिन सकिएको छैन । रोजगारी सिर्जना गर्न ठूला उद्योग तथा अन्य व्यवसाय आवश्यक पर्छन् । कृषि निर्वाहमुखी हुन पुगेको छ, यसको व्यवसायीकरण जरुरी छ । उत्पादन उद्योग, पर्यटन तथा कृषिमा ठूलो लगानी नभई आवश्यक रोजगारी सिर्जना हुन सक्दैन । त्यसका निम्ति उचित वातावरण तयार गर्ने दायित्व सरकारको हो । विगत लामो समयदेखि कुनै पनि सरकार वर्ष दिन नटिक्ने अवस्था उत्पन्न भएको छ । यसले पनि मुलुक राजनीतिक अस्थिरताको सिकार बन्दै आएको छ ।

राजनीतिक अस्थिरताको प्रभाव सबैभन्दा बढी लगानीकर्तामा पर्न गएको छ । सरकार फेरिएसँगै नीतिसमेत फेर्ने कुसंस्कारले लगानी आकर्षित हुन सकेन । यही कुसंस्कारका कारण कतिपय बहुराष्ट्रिय कम्पनी नेपालबाट बाहिरिए । प्रत्यक्ष रोजगारी दिएर व्यवसाय चलाइरहेका कम्पनीहरु ‘आउटसोर्सिङ’ गर्न थाले । उद्योगीहरु व्यापार (ट्रेडिङ) गर्न थाले । यो अवस्थाको अन्त्य आवश्यक छ । दलहरुले अब कोरा राजनीतिक गफ वा समाज परिवर्तनको नारा दिएर मात्र हुँदैन, बलिया पाखुरीलाई कसरी देशभित्रै रोजगारी दिने अनि मुलुकलाई कसरी समृद्ध बनाउने भन्ने योजना बनाउनु आवश्यक छ ।

नेपालजस्तो सानो तथा जटिल भौगोलिक अवस्था (तर, उच्च सामरिक महत्व) भएको मुलुकमा लामो समयसम्म राजनीति तरल रहनु जनता थप गरिब हुनु र रोजगारीका अवसर खुम्चँदै जानु हो । यो अवस्था लम्बिँदै जाँदा मुलुक नै असफल बन्ने सम्भावना रहन्छ । यस्तो परिस्थितिमा जनमानसलाई तत्काल, तीव्र प्रभाव पार्न सक्ने सञ्चारमाध्यमका काँधमा गम्भीर जिम्मेवारी हुन्छ । हामी उक्त जिम्मेवारीबाट कुनै पनि हालतमा चुक्नेछैनौँ । हामी आदरणीय पाठक, शुभचिन्तक तथा सहयोगीका सुझावसल्लाहलाई मार्गदर्शन मान्दै अघि बढ्ने प्रण गर्दछौँ ।