ब्याजदरको विषयलाई लिएर एनआईसी एसियासँग सङ्घले तोड्यो सम्बन्ध

एनआईसी एसिया बैङ्कले सङ्घको निर्णयविपरीत आफूखुसी निर्णय गरेको भन्दै कारोबार नगर्न आग्रह गरेको सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बताए । सङ्घसँग सहमति भएको विषयमा बैङ्कले पुनः ब्याजदर बढाएको भन्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा गरेका थिए ।

वाणिज्य बैङ्कहरुको छाता सङ्गठन नेपाल बैङ्कर्स सङ्घले एनआईसी एसिया बैङ्कले सम्झौताविपरीत ब्याजदर बढाएको भन्दै अन्तरबैङ्किङ कारोबार नगर्न आफ्ना सदस्य बैङ्कलाई आग्रह गरेको छ ।

सङ्घको निर्णयविपरीत बचत खाताको ब्याजदरमा ८ प्रतिशतभन्दा माथि र एकबर्से मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याज एनआईसी एसियाले दिएको भन्दै सङ्घले सम्बन्ध तोड्ने निर्णय गरेको हो ।

एनआईसी एसिया बैङ्कले सङ्घको निर्णयविपरीत आफूखुसी निर्णय गरेको भन्दै कारोबार नगर्न आग्रह गरेको सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बताए । सङ्घसँग सहमति भएको विषयमा बैङ्कले पुनः ब्याजदर बढाएको भन्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा गरेका थिए ।

सहमतिपछि केही समय बचत ब्याजदरमा ८ प्रतिशत र मुद्दतीमा ११ प्रतिशतमा झारेर कारोबार गरेको एनआईसीले पुनः ब्याजदर बढाएको सूचना जारी गरेको हो । बैङ्कले मुद्दती खातामा वार्षिक १२ प्रतिशत र बचत खाताको ब्याजदरमा १० प्रतिशत ब्याजदर दिने निर्णय गरेको हो ।
एनआईसी एसियाले भने बचतकर्ताले उच्च प्रतिफल पाउने विषयमा सिन्डिकेट गर्न नहुने बताएको छ । प्रतिस्पर्धाको समयमा बचतकर्ताले उच्च प्रतिफल पाइरहेका छन् । यसमा रोक्न नहुने बैङ्क स्रोतले क्यापिटल नेपाललाई बतायो ।