ब्याजअन्तर ५ प्रतिशतभन्दा बढी भए कारबाही

बिकास बैङ्क र फाइनान्स कम्पनीले ५ प्रतिशत स्प्रेड रेटमा काम गर्न नसकिने बताइरहेका बेला केन्द्रीय बैङ्कले तोकिएको सीमाभन्दा बढी ब्याजदर अन्तर पाए कारबाही गर्ने चेतावनी दिएको हो ।

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरुलाई औसत ब्याजदर अन्तर (स्प्रेड रेट) ५ प्रतिशतभन्दा बढी भए सिधै कारबाही गर्ने जनाएको छ । बिकास बैङ्क र फाइनान्स कम्पनीले ५ प्रतिशत स्प्रेड रेटमा काम गर्न नसकिने बताइरहेका बेला केन्द्रीय बैङ्कले तोकिएको सीमाभन्दा बढी ब्याजदर अन्तर पाए कारबाही गर्ने चेतावनी दिएको हो ।

मङ्गलबार केन्द्रीय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिँदै आगामी असोज (२०७५ असोज)पछि आर्थिक वर्षको कुनै समयमा औसत ब्याजदर अन्तर ५ प्रतिशतभन्दा बढी भएमा वाणिज्य बैङ्क, विकास बैङक र वित्त कम्पनीलाई सिधै कारबाही गर्ने जनाएको हो । उसले कारबाहीका रुपमा वाणिज्य बैङ्कको शाखा कार्यालय नभएका स्थानीय तहबाहेकका स्थानमा शाखा विस्तार गर्न रोक लगाउने, भूकम्प पीडितलाई प्रदान गरिने बाहेकका पुनर्कर्जा सुविधा प्रदान नगर्ने र सम्बन्धित आर्थिक वर्षको बोनस सेयरको कर प्रयोजनबाहेकका नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाउने उल्लेख गरेको छ ।

त्यसैगरी राष्ट्र बैङ्कले बैङ्क शाखा नपुगेका र जान प्रतिबद्धता गरेका बैङ्कहरुले न्यूनतम पूर्वाधार पुगेका स्थानमा चालू आर्थिक वर्षभित्रै शाखा खोल्न निर्देशन दिएको छ । बैङ्किङ सुविधा नपुगेका स्थानीय तह र बैङ्कहरुले शाखा कार्यालय खोल्ने प्रतिबद्धता नआएका कुनै दुई स्थानमा शाखा खोलेपछि मात्रै काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिकाभित्र एउटा शाखा खोल्ने अनुमति दिइने पनि केन्द्रीय बैङ्कको निर्देशनमा उल्लेख छ । पुससम्म ३ सय ५२ स्थानीय तहमा शाखा पुगेको, २ सय ९२ स्थानीय तहमा शाखा खोल्ने प्रतिबद्धता आएको र १ सय ९ स्थानीय तहमा वाणिज्य बैङ्कले शाखा खोल्ने कुनै प्रतिबद्धता गरेका छैनन् ।

त्यसैगरी केन्द्रीय बैङ्कले कर्जा÷स्रोत परिचालन अनुपात (सीसीडी रेसियो)को दैनिक अनुगमन गर्ने र मासिक औसतका आधारमा तोकिएको अनुपात नाघेमा हर्जाना लगाउने उल्लेख गरेको छ । उसले हर्जाना लगाउने विधि तय गर्दै प्रत्येक महिनाको १ गतेदेखि मसान्तसम्मको प्रत्येक कार्यदिन (सार्वजनिक विदाबाहेक)को आधारमा औसत अनुपात निर्धारण गर्ने उल्लेख गरेको छ । केन्द्रीय बैङ्कका अनुसार प्रत्येक महिनाको मासिक औसत कर्जा बक्यौता रकममा ८० प्रतिशतले कायम हुने मासिक औसत रकम घटाएर बैङ्क दरले गुणन गर्ने र त्यसलाई एक सयलाई १२ ले गुणा गरी भाग गर्दा आउने रकम हर्जानाका रुपमा लिइनेछ ।