ग्लोबल आईएमईमा पौड्याल

ग्लोबल आईएमई बैङ्कले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी कायममुकायम सीईओ जनक शर्मा पौड्याललाई दिएको छ । बैङ्कको बुधबार बसेको सञ्चालक समिति बैठकले पौड्याललाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो । यसअघिका सीईओ अनिल ज्ञवालीले २ वर्ष कार्यकाल बाँकी छँदै बैङ्क छाडेपछि भदौ २९ गतेदेखि उनी कामु सीईओ थिए । उनी ग्लोबल आईएमईमा सहायक महाप्रबन्धकका रुपमा भित्रिएका थिए ।

नबिल बैङ्कबाट सन् १९८७ करिअर सुरु गरेका पौड्यालसँग बैङ्किङ क्षेत्रमै ३० वर्ष काम गरेको अनुभव छ । उनले एनआईसी बैङ्क (हाल एनआईसी एसिया) र लक्ष्मी बैङ्कमा पनि केही समय काम गरेका थिए । वार्कलेज बैङ्कमा लन्डनमा समेत बैङ्किङ अनुभव हासिल गरेका उनले लन्डनबाटै एमबीए गरेका छन् । हाल ग्लोबल आईएमईको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ ।