प्रविधिले ल्याएको चुनौतीलाई आत्मसात गर्न आह्वान

नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई)को आयोजनामा शुक्रबार काठमाडौंमा सम्पन्न ‘डिजिटाइजेसन’ सम्मेलनमा उनले प्रविधिको प्रयोग गर्दा त्यसले ल्याउने अनेकन समस्याहरु झेल्न पनि तयार हुनुपर्ने बताए ।

नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले सूचना प्रविधिले मारेको फड्को र नयाँ प्रविधिले ल्याएको चुनौतीलाई आत्मसात गर्नुपर्नेमा जोड दिएका छन् ।

नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई)को आयोजनामा शुक्रबार काठमाडौंमा सम्पन्न ‘डिजिटाइजेसन’ सम्मेलनमा उनले प्रविधिको प्रयोग गर्दा त्यसले ल्याउने अनेकन समस्याहरु झेल्न पनि तयार हुनुपर्ने बताए । प्रविधि प्रयोग गर्नुको विकल्प कतैपनि नभएको भन्दै उनले विद्युतीय वित्तीय प्रणालीद्वारा बैङ्किङ सेवाको पहुँच वृद्धि गरी ठूलो जनसङ्ख्यालाई लाभ पु¥याएको बताए । उनले राष्ट्र बैङ्कले विद्युत्तीय वित्तीय सेवाको प्रयोगलाई विस्तार गर्न अनुकूल वातावरण निर्माण गर्दे गएको दाबी गरे ।

कार्यक्रममा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले डिजिटाईजेसन बैङ्किङ क्षेत्रको नयाँ शब्दावली भैसकेको र आउँदा दिनमा बैङ्किङले यसलाई अङ्गीकार गर्नुपर्ने अपरिहार्यतामा जोड दिए । उनले टेलिकम, बिमा आदि विभिन्न सङ्घ संस्थाहरुले डिजिटल प्रविधिलाई अपनाई रणनीतिक एवम् दूरगामी सोच लिनुपर्ने बताए ।

कार्यक्रममा आईसीआईसीआई बैङ्क भारतका पूर्व डिजिटल च्यानलका विशेषज्ञ राहुल जोशीले अबको बैङ्किङ युग डिजिटाईजेसनमा हुने भएकाले नेपालको वित्तीय क्षेत्र सचेततापूर्वका विस्तारित हुनुपर्ने बताए । त्यसैगरी आरबीएल बैङ्क भारतका हेड क्यास म्यानेज्मेन्ट प्रडक्ट राजेश लोहरीले विद्युतीय वित्तीय प्रणालीबाट नेपाल जस्तो देशलाई फाइदा हुने भएपनि प्रयोगमा सरोकारवालाले विशेष ध्यान दिनुपर्ने बताए ।

त्यसअवसरमा कोडाक महिन्द्रा बैङ्क भारतका प्रमुख डिजिटल अधिकारी दीपक शर्मा, नेपाल राष्ट्र बैङ्कका भुक्तानी प्रणाली विभागका निर्देशक रेवतिप्रसाद नेपाल, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कका प्रमुख सूचना अधिकारी सुजित श्रेष्ठलगायत विज्ञहरुले बदलिँदो परिस्थितिमा डिजिटाईजेसनजस्तो प्रविधिले ल्याउने चुनौती र अवसरका विविध पक्षमा प्रस्ट्याएका थिए । बैङ्क तथा वित्तीय संस्थाका १ सय ५० भन्दा बढी कर्मचारीहरु सहभागी कार्यक्रमको उद्घाटन एनबीआईका अध्यक्षसमेत रहेका निरौला, जोशी र लोहरीले संयुक्त रुपमा गरेका थिए ।