चिनियाँ जहाज उडाउने तालिम लिन नेपाली पाइलट चीनमा

आज बिहीबार पाइलटलाई तालिमका लागि चीन पठाउने र उनीहरु अर्को साता बुधबार तालिम सकेर आएपछि थन्किएर बसेका जहाज उड्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले क्यापिटल नेपाललाई जानकारी दिए ।

झन्डै डेढ महिना अघिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएका जहाज उडाउन दुई जना पाइलट तालिमका लागि चीन जाँदै छन् । नेपाल वायु सेवा निगमले पाइलटलाई तालिम लिन आज साँझ चीनतर्फ पठाउन लागेको हो ।

निगमले पाइलट अभाव भएपछि चिनियाँ जहाज उडाउन सकेको छैन । तर, आज बिहीबार पाइलटलाई तालिमका लागि चीन पठाउने र उनीहरु अर्को साता बुधबार तालिम सकेर आएपछि थन्किएर बसेका जहाज उड्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले क्यापिटल नेपाललाई जानकारी दिए ।

निगमले चिनियाँ पाइलट ल्याउने ठूलो प्रयास गरे पनि त्यो सम्भव नभएपछि स्वेदशी पाइलटलाई तालिमका लागि चीन पठाउन लागेको उनले जानकारी दिए । ‘चीनबाटै पाइलट ल्याएर जहाज उडाउने भनेर धेरै समयदेखि लाग्यौं,’ उनले क्यापिटल नेपालसँग भने, ‘तर, त्यो सम्भव भएन, तालिमका लागि स्वेदशी पाइलटलाई नै चीन पठायौं ।’

हाल निगमले २ जना पाइटललाई तालिम लिन चीन पठाउँदै छ । उनीहरु आगामी बुधबार फर्किने कंसाकारले जानकारी दिए । त्यसैगरी पछिल्लो पटक चीनबाट आएका जहाजले उडान अनुमति समेत पाएका छैनन् । नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान)ले दुई ओटा जहाजलाई उडान अनुमति दिएको छैन । भन्सार क्लियर भएपनि उडान अनुमति नपाएको कंसाकारले जानकारी दिए ।

‘एक हप्ताभित्र तालिम सकेर पाइलटहरु नेपाल फर्कन्छन्,’ उनले भने, ‘त्यसपछि उडान अनुमतिका लागि क्यानसँगको काम सुरु हुन्छ ।’ उनका अनुसार अबको १५ दिनभित्र चिनियाँ जहाजले उडान भर्छन् ।

२०६९ सालमा बसेको तत्कालीन मन्त्रिपरिषद् बैठकले चीनबाट ६ ओटा जहाज ल्याउने निर्णय गरेको थियो । त्यसै अनुरुप निगमले चीनबाट जहाज ल्याएको हो । तर, ती जहाजबाट निगमलाई ठूलो नोक्सान भइरहेको छ । कहिले पाइलट अभावका कारण त कहिले जहाजमा समस्या देखिएर धेरैजसो समय ती जहाज ग्राउन्डेड हुने गरेका छन् ।

निगमका अनुसार ४ ओटा वाइ १२ जहाज थन्किएर बसेका छन् । एम ६० हजाज भने बेलाबेलामा उडिरहेको निमगले जनाएको छ । निगमले चीनबाट ल्याएको जहाजमध्ये दुई ओटा पाइलट नभएर उडेका छैनन्, दुई ओटा बिग्रिएर थन्किएका छन् । चीनबाट ल्याइएका जहाजको पार्टपुर्जा अन्य देशमा नपाइने र चीनबाटै ल्याउनु पर्दा समय धेरै लाग्ने गरेको निगम स्रोतले बताएको छ । कतिपय जहाजहरु पार्टपुर्जा सहज रुपमा उपलब्ध नभएकै कारण जहाज ग्राउन्डेड गर्नुपर्ने अवस्था छ ।

निगमले ल्याएका ६ ओटामध्ये एउटा एमए – ६० र अर्को वाई १२ जहाज अनुदानका हुन् । दुवै जहाज सन् २०१४ मा ल्याइएको हो । त्यसपछि थप भएका ३ ओटा वाई १२ र एउटा एम ए ६० सहुलियतपूर्ण ऋणमा खरिद भएका जहाज हुन् । एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना (एभिक) द्वारा उत्पादित एमए – ६० को सिट क्षमता ५६ हो । हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई १२ को क्षमता भने १९ सिटको छ ।

मन्त्रीको निर्देशनपछि तात्यो निगम
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले १० दिनभित्र ग्राउन्डेड जहाज उडाउन निगमलाई निर्देशन दिएपछि निगमले नेपाली पाइटललाई तालिमका लागि चीन पठाउने भएको हो । मन्त्री अधिकारीले केही दिनअघि निगमका महानिर्देशक कंसाकारलाई आफ्नै कार्यकक्षमा बोलाएर १० दिनभित्र ग्राउन्डेड सम्पूर्ण जहाज उडाउन निर्देशन दिएपछि निगम तातेको हो ।

पाइलट अभावको कारण देखाउँदै बसेको निगमले अहिले आफैसँग भएका पाइलटलाई तालिमका लागि चीन पठाउन लागेको हो । एक हप्ते तालिम सकेर आएपछि जहाज उडाउने प्रक्रिया पनि सुरु हुन्छ ।