केन्द्रीय बैङ्कले संस्थापकहरुलाई रकम जम्मा गर्न भनेसँगै लामो समयदेखि प्रक्रियामा रहेको पूर्वाधार विकास बैङ्क खोल्ने बाटो खुलेको हो ।
नेपाल राष्ट्र बैङ्कले पूर्वाधार विकास बैङ्क खोल्ने प्रक्रिया अघि बढाएको छ । संस्थापक सेयरधनीहरुलाई पुँजीको ४५ प्रतिशत एक महिनाभित्र राष्ट्र बैङ्कमा जम्मा गर्न निर्देशन दिइएको छ । केन्द्रीय बैङ्कले संस्थापकहरुलाई रकम जम्मा गर्न भनेसँगै लामो समयदेखि प्रक्रियामा रहेको पूर्वाधार विकास बैङ्क खोल्ने बाटो खुलेको हो ।
राष्ट्र बैङ्कका सहप्रवक्ता राजेन्द्र पण्डितले बैङ्क खोल्ने प्रयोजनका लागि प्रवर्द्धकले हाल्ने कुल पुँजीको ४५ प्रतिशत रकम ३० दिनभित्र जम्मा गर्न निर्देशन दिइएको बताए । २० अर्ब चुक्ता पुँजी रहने पूर्वाधार बैङ्कमा ३० प्रतिशत सर्वसाधारणका लागि छुट्ट्याइएको छ भने १० प्रतिशत सरकारको हिस्सा रहने छ ।
३० दिनभित्र बैङ्कका प्रवर्द्धक–संस्थापकले हाल्ने पुँजी १२ अर्बको ४५ प्रतिशत अर्थात् ५ अर्ब ४० करोड रुपैयाँ केन्द्रीय बैङ्कमा जम्मा गर्नुपर्नेछ । तोकिएको रकम जम्मा भएपछि केन्द्रीय बैङ्कले लेटर अफ इन्ट्रेस्ट (एलओआई) दिएपछि मात्रै पूर्वाधार बैङ्कका प्रारम्भिक संरचना तयार हुनेछन् । त्यसपछि केन्द्रीय बैङ्कले सञ्चालनका लागि अनुमति दिएपछि मात्रै बैङ्क पूर्ण रुपमा सञ्चालनमा आउनेछ । खासगरी ठूला परियोजना निर्माणमा लगानी गर्नेगरी पूर्वाधार बैङ्कको आवश्यकता भएपनि त्यसतर्फ कसैले चासो दिएको थिएन ।
पूर्वाधार विकास बैङ्कको मुख्य प्रवर्द्धक इमर्जिङ नेपाल हो । त्यसमा आइएमई समूह, गोल्छा अर्गनाइजेसन, विशाल ग्रुप, दुगड ग्रुप, ज्योति समूह, सानिमा बैङ्क, कर्मचारी सञ्चयकोषलगायत करिब ४० ओटा व्यावसायिक घरनाको संलग्नता रहेको उनले जानकारी दिए । केही समयअघि राष्ट्र बैङ्कले लगानीकर्ताको सम्बन्धमा कुनै उजुरी भएमा १५ दिनको समय दिएर सूचना प्रकाशित गरेको थियो । सो सम्बन्धमा कुनै गुनासा तथा उजुरी नपरेपछि राष्ट्र बैङ्कको बोर्ड बैठकले स्वीकृति प्रदान गरेको हो । यसैगरी पूर्वाधार विकास बैङ्कको प्रवर्द्धक इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले अब ४५ प्रतिशत रकम जम्मा गर्न प्रक्रिया अघि बढाउने जानकारी दिए । ‘एलओई लिनका लागि संस्थापकतर्फको कुल १२ अर्ब रुपैयाँको ४५ प्रतिशत रकम जम्मा गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘आफूहरुसँग सो रकम भएको र केही समयभित्रै जम्मा गरेर अलओआईका लागि प्रक्रिया अघि बढाउने छौं ।’
प्रवर्द्धक इमर्जिङ नेपालले संस्थापकको ४५ प्रतिशत अर्थात् ५ अर्ब ४० करोड रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । कुल २० अर्ब चुक्ता पुँजी रहेको सो बैङ्कमा संस्थापकका साथै स्वदेशी तथा विदेशी बहुराष्ट्रिय कम्पनीको समेत लगानी भित्र्याइने छ । पूर्वाधार विकास बैङ्क स्थापनाका लागि इमर्जिङ नेपालको नेतृत्वमा सो बैङ्क स्थापना भएसँगै पूर्वाधार विकाससम्बन्धी परियोजनामा कर्जा प्रवाह तथा सेयर लगानी, पूर्वाधार विकाससम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी, ठूला परियोजना सञ्चालन, कुनै परियोजनका लागि रकम जुटाउने काम गर्दछ ।