होस गर्नुहोस्, बिदाको मौका पारेर चाेर्न सक्छन् पैसा !

बङ्गलादेश बैङ्कको पैसा चोरी गर्दा बिदाको ‘सिक्वेन्स’लाई हेक्का दिएर योजना बनाएको पाइएको देवनाथको भनाइ छ । नेपालमा पनि एनआईसी एसियाको पैसा चोरी गर्दा तिहारको बिदा सुरु हुन लागेको थियो । कागतिहार र कुकुरतिहारको दिन पारेर ह्याकरहरूले पैसा चोरी गरेका थिए ।

साइबर सुरक्षा आधुनिक वित्तीय प्रणालीका लागि नयाँ तर सबैभन्दा ठूलो जोखिमका रुपमा उदाएको विज्ञहरुले बताएका छन् । पछिल्ला वर्षमा साइबर हमलामार्फत धेरै ठूलो पैसा चोरी हुन थालेपछि साइबर सुरक्षामा बैङ्क र नियामक निकायहरुले ठूलो लगानी गर्नुपर्ने उनीहरूले बताए ।

‘नियामकको भूमिकामा बसेर अहिलेसम्म हामीले बैङ्किङ प्रणालीको सबैभन्दा ठूलो जोखिमका रुपमा कर्जा जोखिमलाई लिँदै आएका थियौं,’ नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले भने, ‘तर पछिल्ला घटनाले साइबर सुरक्षा नयाँ तर ठूलो जोखिम भएर आएको रहेछ भन्ने भएको छ ।’ नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई)को अध्यक्षसमेत रहेका निरौलाले प्रणालीगत जोखिमलाई घटाउन बैङ्कहरुले ८–१० करोड खर्च गर्न डराउनु नहुने बताए ।

 

रातारात अर्बाैंं पैसा बैङ्कबाट हराउने र त्यो पैसा लासभेगास र मकाउका जुवाघरमा पुग्ने अवस्था आएमा अर्थतन्त्रमाथि नै ठूलो समस्या खडा हुनेबारे विज्ञहरुले सचेत गराएका छन् । बिहीबार राजधानमा आयोजना गरेको ‘साइबर तथा स्वीफ्ट सुरक्षा’सम्बन्धी कार्यशालामा सहभागी विज्ञहरूले पैसा चोरी भइसकेपछि त्यसलाई फिर्ता ल्याउन निकै जटिल भएको भन्दै रोकथाम वा सुरक्षामा ध्यान दिन आग्रह गरे ।
हालैमात्र एनआईसी एसिया बैङ्कको ‘स्वीफ्ट ह्याक’ गरेर पैसा चोरी भएको थियो । जापान, अमेरिका, मलेसिया, सिङ्गापुरलगायतका बैङ्कमा ४४ लाख अमेरिकी डलरको ‘ट्रान्सफर अर्डर’ दिँए पनि १० लाख डलर पैसा ट्रान्सफर भएपछि एनआईसी एसिया बैङ्कले थाहा पाएर बाँकी ट्रान्सफर रोकेको थियो ।

यसअघि बङ्गलादेश बैङ्क –बङ्गलादेशको केन्द्रीय बैङ्क) बाट १० करोड १० लाख डलर चोरी भएको थियो । त्यसमध्ये ठूलो पैसा अहिलेसम्म फिर्ता हुन सकेको छैन । अरु विभिन्न बैङ्कबाट पनि स्वीफ्ट ह्याक गरेर पैसा चोर्ने काम भइरहेको छ । संसारको वित्तीय प्रणालीमा सन् २०१३ मा एक पटक, २०१५ मा तीन पटक, २०१६ र २०१७ मा चार–चार पटक साइबर हमला भएका छन् । यसमध्ये अधिकांश साइबर हमला एसियाली मुलुकका बैङ्कमाथि भएको बङ्गलादेशको वित्तीय अनुसन्धान एकाईका परामर्शदाता देवप्रसाद देवनाथले बताए ।

बिदामा चोरी

ह्याकरहरूले पैसा चोरी गर्दा सार्वजनिक बिदाको दिनलाई बढी प्रयोग गर्ने गरेको पाइएको छ । विभिन्न मुलुकमा सार्वजनिक बिदाका दिन फरकफरक पर्ने भएकाले त्यसलाई ह्याकरहरूले अवसरका रूपमा लिने गरेको विज्ञहरूले बताए । बङ्गलादेश बैङ्कको पैसा चोरी गर्दा बिदाको ‘सिक्वेन्स’लाई हेक्का दिएर योजना बनाएको पाइएको देवनाथको भनाइ छ । नेपालमा पनि एनआईसी एसियाको पैसा चोरी गर्दा तिहारको बिदा सुरु हुन लागेको थियो । कागतिहार र कुकुरतिहारको दिन पारेर ह्याकरहरूले पैसा चोरी गरेका थिए ।

फिर्ता गर्ने चुनौती

पछिल्ला केही दशकमा चोरी भएर पनि आफ्नो सम्पत्ति फिर्ता पाएका ५० ओटा घटनामा करिब ४० अर्ब अमेरिकी डलर फिर्ता भएको उदाहरण छ । फिलिपिन्सले पछिल्ला २१ वर्षमा १ अर्ब डलरबराबरको सम्पत्ति फिर्ता पाएको छ, त्यसमध्ये अधिकांश स्वीट्जरल्यान्डबाट पाएको थियो । पेरुले स्वीट्जरल्याण्ड, अमेरिका र केम्यान आइल्यान्डबाट साढे १७ करोड डलर फिर्ता लिएको छ । यसअघि स्वीट्जरल्यान्डबाटै ७० करोड डलर नाइजेरिया फिर्ता भएको थियो ।

ब्रिटिस र दक्षिण अफ्रिकाबाट पनि साढे १७ करोड डलरभन्दा बढी पैसा नाइजेरिया फर्केको छ । नेपाल, बङ्गलादेशजस्ता मुलुकले अत्यन्त सानो आाकारमा पैसा फिर्ता पाएका छन् । यसरी पैसा फिर्ता गर्न निकै ठूलो लगानी गर्नुपर्ने, ठूलो सङ्गठन परिचालन गर्नुपर्ने र लामो समय लाग्नेजस्ता कारणले पनि साइबर हमलापछि पैसा फिर्ता लिने उपाय निकै जटिल र खर्चिलो हुने बैङ्करहरु बताउँछन् । यसका लागि बैङ्करहरुले प्राविधिक सुरक्षामा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बैङ्करहरूको भनाइ छ ।