एनालग टेलिभिजन युगको अन्त्य, उपत्यकामा पूर्ण रुपमा बन्द

एनालग केबल टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नाले देशको राजस्व वुद्धि हुनुका साथै डिजिटल टीभी प्रयागकर्ताले सुरक्षित तथा सुविधायुक्त तरिकाले प्रयोग गर्न सक्नेछन् ।

काठमाडौं उपत्यकामा एनालग केबल टीभी पूर्ण रुपमा बन्द भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले एनलग केबल कम्पनीहरुमा अनुगमन गरी सेवा पूर्ण रुपमा बन्द गराएको हो । उपत्यकाका अब एनालग प्रणालीमा आधारित सम्पूर्ण सेवासुविधा बन्द भएका छन् ।

मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार मन्त्रालयबाट केबल टेलिभिजन शाखाका प्रमुख विष्णुकुमारी भट्टराई र फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपाल, मन्त्रालयका उपसचिव सङ्गिता ओझाको टोली अनुगमनमा गएका थिए ।

टोलीले सुबिसु केबल नेट प्रइभेट लिमिटेड, सुदर्शन केबलनेट प्रालि, सोनिङ केबल नेट, सीईसी, स्काई केबलनेट, स्पेसटाइम केबल नेट प्रालि, काठमाडौं केबल नेट प्राइभेट लिमिटेडलगायत १० एनालग केबल नेट सेवाप्रदायक कम्पनीमा अनुगमन गरिएको ढकालले बताए ।

त्यस्तै मन्त्रालयकी उप–सचिव सङ्गीता ओझाका अनुसार अनुगमन क्रममा बुधबारबाट नियमविपरीत सञ्चालन भएका एनालग केबललाई बन्द गराइएको छ । साथै उपत्यकामा मात्र नभई मुलुकभर सञ्चालनमा रहेका केबल टीभीलाई डिजिटल केबल टीभीमा रुपान्तरण गर्न मान्त्रालय लागी परेको समेत उनले जानकारी दिइन् ।

एनालग केबल टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नाले देशको राजस्व वुद्धि हुनुका साथै डिजिटल टीभी प्रयागकर्ताले सुरक्षित तथा सुविधायुक्त तरिकाले प्रयोग गर्न सक्ने पनि उनको भनाइ छ ।

वैशाख १५ गतेबाट एनलग केबल प्रणालीलाई देशैभर प्रतिस्थापन गरी डिजिटल केबल टीभीमा रुपान्तरण हुनेमा विश्वस्त रहेका पनि उनले बताइन् । सूचना तथा सञ्चार मन्त्रालयमा हाल १० ओटा डिजिटल केबल टीभी दर्ता भए पनि नेपालमा आठ ओटा मात्र सञ्चालनमा छन् । त्यस्तै डिजिटल टेरेस्ट्रियल टेलिभिजन ब्रोडकास्टिङमा भने चार कम्पनीले मन्त्रालयमा इजाजतपत्र लिएको छ ।