स्विस राजदूत दोलखामा, भीमेश्वर नगरपालिकाद्वारा चार क्षेत्रमा सहयोगको अनुरोध

स्विस सरकारले भूकम्पपछि दोलखाका विभिन्न क्षेत्रमा गरेको लगानीको अनुगमनमा दोलखा आएकी राजदूत क्यापिलरसँगको औपचारिक भेटघाटमा मङ्गलबार भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले नगरपालिकाको चार क्षेत्रमा सहयोगको आग्रह गरेका हुन् ।

नेपालका लागि स्विटजरल्यान्डकी राजदूत एलिजावेथ भोन क्यापिलरको दोलखा भ्रमणका अवसरमा भीमेश्वर नगरपालिकाले चार क्षेत्रमा सहयोगको अनुरोध गरेको छ ।

स्विस सरकारले भूकम्पपछि दोलखाका विभिन्न क्षेत्रमा गरेको लगानीको अनुगमनमा दोलखा आएकी राजदूत क्यापिलरसँगको औपचारिक भेटघाटमा मङ्गलबार भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले नगरपालिकाको चार क्षेत्रमा सहयोगको आग्रह गरेका हुन् । राजदूत क्यापिलरले १० वर्षअघि दोलखा आउँदाको सम्झना गर्दै भनिन्, ‘यो अवधिमा दोलखाले विकासमा ठूलै फड्को मारेको देखियो, आवश्यकताअनुसार सहयोग गर्न तयार छौं ।’

मेयर केसीले चरिकोट टुँडिखेलमा स्टेडियम, कभर्ड हल, विज्ञान पार्क र दोलखा बजारको चर्चित रातो मच्छिन्द्रनाथको रथ तान्ने रुटमा स्टोन पेभमेन्ट कार्यमा सहयोग गरिदिन राजदूत क्यापिलरसँग आग्रह गरेका थिए । भीमेश्वर नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा राजदूत क्यापिलरलाई मेयर केसीले मायाको चिनो समेत प्रदान गरेका थिए ।

भूकम्पपछि स्विस सरकारले स्विटजरल्यान्डको ज्युरीच सहरसँग तुलना गरिने दोलखाको जिरी नगरपालिकास्थित जिरी प्राविधिक शिक्षालय, दोलखा बजारस्थित पवित्र धार्मिकस्थल त्रिपुरासुन्दरी मन्दिर र साविकको गौरीशङ्कर गाविसस्थित सिमिगाउँदेखि चर्चित हिमताल च्छोरोल्पा हिमतालसम्मको पदमार्गमा गरेको लगानीको अनुगमन गर्न राजदूत क्यापिलर दुई दिनसम्म दोलखामा रहने कार्यक्रम छ ।